मकवानपुरगढीमा अटो दुर्घटना, चालक गम्भीर घाइते
हेटौंडा / मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२, गढी दरबारस्थित कान्तिलोकपथ सडकखण्डमा आइतबार दिउँसो अटो दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा हेटौंडा उपमहानगरपालिका–८, ओमनगर निवासी ५४ वर्षीय अटो चालक सुर्ज थापा मगर गम्भीर घाइते भएकाे मकवानपुर प्रहरीले जानकारी दिएको छ । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। अन्य तीन जना अटोमा सवार भने सकुशल रहेका छन्।
ना २ ह १२९० नम्बरको अटो हेटौंडाबाट गढि दरबारतर्फ जाँदै गर्दा दिउँसो करिब २:४५ बजे अनियन्त्रित भई सडक किनारको नालीमा खसेको हो । अटोमा सवार चालकको छोरीको भनाइ अनुसार अटो गुडिरहेको अवस्थामा अचानक केही पड्किएको जस्तो आवाज आएको र त्यसपछि अटो अनियन्त्रित भई नालीमा खसेको जनाइएको छ।
दुर्घटनापछि चालकका छोरीले घाइतेलाई तत्कालै हेटौंडा अस्पताल पुर्याएकी थिइन्। प्रारम्भिक उपचारपछि थप उपचारका लागि भरतपुरस्थित नयाँ मेडिकल कलेज (CMC) सिफारिस गरिएको थियो । तर अवस्था गम्भीर रहेकाेले साँझ ६ बजे उनलाई काठमाडौंस्थित अन्नपूर्ण अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अटोको चालकको सिटमाथि ढुङ्गा खसेको जस्तो देखिएको र अटोको गियरमा समेत क्षति देखिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।



