मकवानपुरको इन्द्रसराेवरमा ३ घरमा आगलागी, लाखौँको क्षति
file photo
हेटौंडा / मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिका–३, भालुखर्कस्थित चनौटे डाडाँ जंगलमा लागेको आगो बस्तीमा फैलिँदा स्थानीयहरुको घर तथा गोठमा ठूलो क्षति पुगेको छ। आगलागीबाट मानवीय क्षति नभए पनि लाखौँको जनधन क्षति भएको मकवानपुर प्रहरी कार्यालय मार्फत जानकारी प्राप्त भएको छ ।
आगलागीका कारण स्थानीय चन्द्र बहादुर कुवँरको काठ र जस्ताले निर्मित कच्ची गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । गोठमा रहेका १२ वटा बाख्रा र ६ वटा कुखुराको जलेर मृत्यु भएको छ । कुवँरको अन्दाजी तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही स्थानका श्याम बाबु कुवँरको माटो, ढुङ्गा र जस्ताले बनेको कच्ची घर आंशिक रुपमा जलेको छ । आगलागीका कारण घरभित्र रहेको फर्निचर, लत्ताकपडा र अन्य सामान जलेर अन्दाजी दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
त्यस्तै, रामबाबु कुवँरको ब्लक र जस्ताले बनेको पक्की घरमा आगो झ्यालबाट पस्दा घरभित्रको लत्ता कपडा, ओछ्यान तथा अन्य सामग्री जलेर करिब पचास हजार रुपैयाँ बराबरको क्षति भएको जनाएकाे छ।
स्थानीय तह, सुरक्षाकर्मी र बासिन्दाको सक्रियतामा आगो नियन्त्रणमा आएको भए पनि क्षतिको विवरण संकलन कार्य जारी रहेको जनाइएको छ । आगलागी नियन्त्रण तथा क्षतिको विवरण बुझ्नका लागि स्थानीय प्रशासनले थप अनुसन्धान गरिरहेको छ ।


