इन्द्रसरोवरमा सुमो दुर्घटना : यी हुन् घाइते (विवरण सहित)
हेटौंडा / मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतसेमा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् । रौतहटको गौरबाट काठमाडौं जाँदै गरेको सुमो आज दिउँसो इन्द्रसरोवर–२ बतासे भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।
भीमफेदी–कुलेखानी–सिस्नेरी–काठमाडौं सडक खण्ड स्थित बतासेमा ना १ ज ५४८५ नम्बरको सुमो ब्रेक फेल हुँदा सडकबाट करिब १ सय मिटर तल खोल्सामा खसेको हो। मकवानपुर प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर घाइतेहुनेहरुमा रौतहटको गुजरा नगरपालिका–५ का २१ वर्षीय मिरशन आलम, सोही स्थानका ५५ वर्षीय मुस्ताख अहमद र रौतहटकै इशनाथ नगरपालिकाका ३६ वर्षीय हरशे आलम मन्सुर रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएस्पी) श्यामु अर्यालले जानकारी दिए । मिरशन आलम र मुस्ताख अहमद दुवै जनालाई टाउकोमा गम्भीर चोट लागेको छ भने हरशे आलम मन्सुरको अवस्थासमेत गम्भीर रहेको उनले बताए ।
यस्तै, अन्य घाइते हुनेहरूमा रौतहटको गुजरा नगरपालिका–४ का १७ वर्षीय मशरुदिन आलम, इशनाथ नगरपालिकाका १९ वर्षीय असमल आलम, गुजरा नगरपालिका–४ का १३ वर्षीय सलिम अन्सारी र गुजरा नगरपालिका–३ की १८ वर्षीय अजुमा खातुन रहेका छन् । मशरुदिन आलमको दाहिने कुममा चोट लागेको छ भने असमल आलम र सलिम अन्सारीलाई शरीरका विभिन्न भागमा सामान्य चोट लागेको छ। अजुमा खातुनको दाहिने कुइनोमा चोट लागेको बताइएको छ ।
यसैगरी, घाइतेहरूको उपचारका लागि काठमाडौं पठाइएको छ भने सुमो चालक रौतहटको गुजरा नगरपालिका–४ बस्ने २३ बर्षीय चालक राजन चौधरी समेत सामान्य घाइते भएका छन्। उनी प्रहरीको निगरानीमा उपचारत रहेको मकवानपुर प्रहरीले जनाएको छ। प्रहरीका अनुसार केही घाइतेको परिचय खुल्न बाकी रहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


