पत्रकार सुरेश रजकको न्याय माग्दै हेटौंडा विरोध प्रर्दशन

पालिका डायरी
१६ चैत्र २०८१, १२:४४

 हेटौंडा / नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाले समाचार संकलनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्याको विरोधमा प्रदर्शन गरेको छ । शनिबार (आज) नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजना तथा पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा पत्रकार रजकको हत्याको विरोधमा हेटौंडामा प्रदर्शन गरिएको हो। समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा देशभरका पत्रकारहरू आन्दोलित छन् ।

हेटौंडाको पल्पसासभागृहबाट सुरु भएको विरोध र्याली मकवानपुर उद्योग बाणिज्य संघ, पिपलबोट, बुद्धचोक हुँदै सीमाचोक पुगेर सभामा परिणत भएको थियो । पत्रकारले बोकेको प्लेकार्डमा पत्रकार सुरेश रजकको हत्यारालाई कारवाही गर, पत्रकार हत्याको छानबिन गर, प्रेस स्वतन्त्रता जिन्दावाद लगाएतको नारा लेखिएको थियो ।
शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएको भिडियो सार्वजनिक भएको छ। उनको त्यही जलेर मृत्यु भएको थियो ।

प्रतिक्रिया