प्रदेशमा रोजगारी सिर्जना गर्ने नीति कार्यक्रम ल्याउँछौं : मन्त्री महर्जन

हेटौंडा / बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले समृद्धिको अभियान भनेको रोजगारी भएको बताए । मन्त्री महर्जनले प्रदेशका नागरिकहरुलाई रोजगारीसँग जोड्न नीति निर्माण तहबाटै विभिन्न योजनाहरु तयार गरिने मन्त्री श्रेष्ठले बताएका हुन् । बुधबार मन्त्रालयमा सम्पन्न सुरक्षित आप्रवासन (सामी) कोे प्रदेश कार्यक्रम समन्वय समितिको बैठकलाई सम्बोध गर्दै मन्त्री श्रेष्ठले प्रदेश सरकार रोजगारी सिर्जना गर्नेगरि कार्यक्रम ल्याउने बताएका हुन् ।
अब बन्ने बजेटमा रोजगारी क्षेत्रलाई समेट्ने गरी नीति तथा कार्यक्रम बनाउन पहल गरिने उनले बताए । ‘प्रदेश सरकारले बजेट बनाउँदा पनि अब प्रत्यक्ष रोजगारीसँग जोड्ने खालका नीति कार्यक्रम तथा बजेट तयार गरिन अवाश्यक छ,’ मन्त्री महर्जनले भने, ‘स्थानीय तह लेबलमै युवाहरुलाई प्रमोट गर्नेगरी कार्यक्रम बनाइन जरुरी छ । अहिलेका युवाहरुमा नकारात्मक धारण बढ्दै गएको अवस्था छ । नेपालमा केही पनि हुँदैन भन्ने भास्य सिर्जना भैरहेको छ । यसलाई चिर्नका लागि ग्याप देखिन्छ । त्यो बिषयमा पनि सरोकारवाला निकायहरुबीच छलफल गर्न जरुरी छ ।’
मन्त्री श्रेष्ठले आइटी क्षेत्रमा २५ हजार युवाहरुलाई रोजगारी प्रदान गर्नेगरी तालिमको व्यवस्था गर्न लागिएको समेत बताए । १२ कक्षा पढेका र आइटी सेक्टरमा रुचि भएका युवाहरुलाई रोजगारी प्रदान गर्ने उदेश्यले श्रम, रोजगार तथा यातायात मन्त्रालयले निक्षेपकर्ता कर्जा सुरक्षण कोषसँगको सहकार्यमा ५ लाख रुपैंया कर्जा प्रवाह गरेर तालिम दिइने उनले बताए । उक्त कर्जा रोजगार भएपछि फिर्ता गर्नेगरी दिइने मोडालिटीको कार्यक्रम गर्न लागिएको मन्त्री महर्जनको भनाइ छ ।
श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनको अध्यक्षतामा सम्पन्न बैठकले ६ वटा प्रस्तावहरुमाथी छलफल गरि निर्णय समेत गरेको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको आयोजनामा भएको बैठकले गत बैठकका निर्णय कार्यान्वयनको समीक्षा, कार्यक्रम निर्देशक समिति (संघ) को बैठकको निर्णयबारे जानकारी र श्रम, रोजगार तथा यातायात मन्त्रालय र स्वास्थ्य निर्देशनालयको कार्य प्रगति को प्रस्ताव माथी छलफल गरि निर्णय गरेको छ ।
त्यस्तै, बैठकले आगामी आथिएक बर्षको लागि पालिकाहरू विस्तार गर्ने सम्बन्धमा भएको प्रगती, बिभिन्न तालिमहरू संचालन सम्बन्धमा, आगामी आर्थिक वर्षको लागि बजेट विनियोजन सम्बन्धमा, सुरक्षित आप्रवासन कार्यक्रमको वार्षिक कार्ययोजना लगायत विविध विषयहरुमा छलफल गरि निर्णय गरेको छ ।
श्रम, रोजगार मन्त्री प्रेमभक्त महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्रालयका सचिव बिरेन्द्रदेव भारतीको सह–अध्यक्षता रहेको थियो भने बागमती प्रदेशका स्वस्थ्य मन्त्री किरण थापाको विशेष आतिथ्यता रहेको थियो ।
यस्तै, सदस्यहरुमा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, स्वस्थ्य मन्त्रालयका खगेश्वर गेलाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसद कडेल, आर्थिक मामिला तथा योजना मन्त्रालयका आशिस आचार्यको उपस्थिती रहेको थियो । यस्तै, प्रदेश नीति तथा योजना आयोगका अमृत कुमार श्रेष्ठ, श्रम रोजगार तथा यातायात मन्त्रालयका अधिकृत तथा सामी फोकल पर्सन तिर्थराज उपाध्याय लगायतको उपस्थिती रहेको थियो ।