एमालेका सांसद पन्तले भने : काम गर्न नसक्ने मन्त्री फेर्ने बेला आयो
नेकपा एमालेका सांसद रघुजी पन्तले काम गर्न नसक्ने मन्त्रीहरू फेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पन्तले आफ्नै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आग्रह गर्दै काम गर्न नसक्ने मन्त्रीलाई हटाउन भनेका हुन् ।
उनले पूर्वविशिष्टहरूलाई आजीवन सेवा सुविधा दिनेबारे मन्त्रीहरू नबोलेकोबारे उनले आपत्ति जनाए । ‘विशिष्टहरूलाई सुविधा दिनेबारे डेढवर्षदेखि कानुनमन्त्रालयमा ड्राफ्ट भइरहेको छ । मन्त्रीजीहरूको पारा देखेर छक्क परिराछु । हिजो प्रकाशमानजीले पाल्पामा भन्नु भयो-यो अहिले भइरहेको छैन । यही कुरा यहाँ संसद्मा आएर भने भयो नि कसरी बनेको, किन बनेको, के कारणले बनेको भनेर ।’
उनले पटकपटक यो विषयमा प्रश्न उठेपछि प्रधानमन्त्रीले पनि जवाफ दिनुपर्ने बताए । ‘पटकपटक प्रश्न उठेपछि भन्नुपर्यो नि । म प्रधानमन्त्रीलाई पनि आग्रह गर्छु- यो प्रधानमन्त्रीय व्यवस्था हो। मन्त्रीहरू फेर्ने बेला आयो। पर्फर्मेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न जरुरी छैन । प्रधानमन्त्रीले पक्कै मूल्यांकन गर्नु भएको होला’ उनले भने ।



