कांग्रेसले भन्यो : गाँजा खेतीअगाडि बढाउन के आपत्ति भयो?

पालिका डायरी
३ चैत्र २०८१, १२:४२
file photo

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले देशको अर्थतन्त्र बलियो बनाउन गाँजाखेती सुरु गर्नुपर्ने बताएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै घिमिरेले अमेरिकालगायत धेरै देशले गाँजाकै कारण अर्थतन्त्र बलियो बनाउँदा नेपालमा यसलाई ध्यान दिनुपर्ने बताएका हुन् ।

‘गाँजा खेती संसारका धेरै देशले सुरु गरिसके । अमेरिकाको अर्थतन्त्रमा ठूलो प्रभाव छ । यसैलाई हेरेर हामीले गाँजा खेतीलाई अगाडि बढाउन के आपत्ति भयो?’ उनले सोधे । त्यस्तै उनले वनका कानुनले यहाँ ठूलो समस्या भइरहेको भन्दै कानुनका उल्झनलाई समाधान गर्न ध्यान दिनुपर्ने पनि बताए ।

घिमिरेले सरकराले अहिले सबैभन्दा ठूलो लगानी पूर्वाधारमा गर्नुपर्ने बताए । लाखौँ नेपाली विद्यार्थी विदेशमा अध्ययनका लागि जाँदा खबौँ रकम बाहिरिएकोप्रति सचेत हुन पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

‘यो मुलुकमा मेडिकल कलेज खोल्नै नदिने, यहाँका हजारौँ विद्यार्थी विदेश पढ्न पठाउने यहाँ रोजगारीको सिर्जना गर्दा के बिग्रिन्छ ?,’ उनले भने, ‘हजारौँ लाखौँको संख्यामा नेपालीहरू विदेश गइरहेका छन् खर्बौँ बाहिरिएको छ । अब रेमिट्यान्सको विकल्प के हो ? सोच्न जरुरी छ । रेमिट्यान्सकै बलमा सरकार चलेको छ भन्ने भुल्न हुँदैन ।’

प्रतिक्रिया