दशौँ हेटौंडा भेट्रान्स कपको उपाधि किङडम भेट्रान्सलाई

पालिका डायरी
२६ फाल्गुन २०८१, २०:५२
दशौँ हेटौंडा भेट्रान्स कपको उपाधि किङडम भेट्रान्सलाई

हेटौंडा / हेटौंडा भेट्रान्स क्लबको आयोजनामा गत फागुन २२ गतेदेखि सुरु भएको दसौँ राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङडम भेट्रान्स काठमाडौंले जितेको छ। हेटौंडामा सोमबार सम्पन्न फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाडौंलाई ट्राइब्रेकरमा पराजित गर्दै किङडम भेट्रान्सले नगद एक लाख ५० हजार पाँच सय पचपन्न रुपैयाँको राशि हात पार्न सफल भएको प्रतियोगिता संयोजक मणिराज गौतमले बताउनुभयो।

खेलको १४औँ मिनेटमा फ्रिडम फाइटर भेट्रान्सका तर्फबाट कृष्ण मालाकारले एक गोल गर्दै समूहलाई अग्रता दिलाए पनि खेलको २७औँ मिनेटमा किङडम भेट्रान्सका खेलाडी जगतमान लामाले गोल गर्दै बराबरीमा ल्याएका थिए। निर्धारित समयमा दुवै समूहबाट बराबरी गोल भएपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा तीन-दुई गोल अन्तरले किङडम भेट्रान्स विजयी भएको हो। दोस्रो स्थान हासिल गर्न सफल फ्रिडम फाइटर भेट्रान्सले नगद ७५ हजार पाँच सय पचपन्न रुपैयाँ र शिल्ड प्राप्त गरेको संयोजक गौतमले बताउनुभयो।

प्रतियोगिता अन्तर्गत किङडम भेट्रान्सका तर्फबाट सर्वश्रेष्ठ प्रशिक्षक राजकुमार पन्त, उत्कृष्ट फरवार्ड सरोज थापा, उत्कृष्ट गोलकिपर अमित प्रधान, उत्कृष्ट डिफेन्स सञ्जय राना मगर घोषित भए। त्यस्तै, फ्रिडम फाइटर भेट्रान्सका तर्फबाट उत्कृष्ट मिडफिल्डर उदयबहादुर गुरुङ घोषित भई जनही पाँच हजार नगद र ट्रफी प्राप्त गर्न सफल भए।

यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी फ्रिडम फाइटर भेट्रान्सका तर्फबाट तेन्जिङ लामा घोषित भई नगद दस हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्न सफल भए। विजयी खेलाडीहरूलाई हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मिना कुमारी लामाले पुरस्कार प्रदान गर्नुभयो।

पुरस्कार वितरणपछि सम्बोधन गर्दै नगरप्रमुख लामाले स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण रहेको बताउँदै फुटबल खेलको विस्तारमा भेट्रान्स क्लबले आयोजना गरेको प्रतियोगिताबाट युवा पुस्ताका खेलाडी उत्पादनमा समेत योगदान पुग्ने बताउनुभयो।

समापन समारोहमा नगरप्रमुख लामा संगै शिक्षाविद् पूरनबहादुर जोशी, एन्फाका केन्द्रीय सदस्य टिका लामा, हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर ४ अध्यक्ष नवीन सिग्देल, वडा नम्बर ५ अध्यक्ष सुशील घिमिरे, वडा नम्बर ६ अध्यक्ष विष्णुबहादुर दाहाल, वडा नम्बर ७ अध्यक्ष दामोदर गौतम, वडा नम्बर ८ अध्यक्ष राम थापा, वडा नम्बर ९ अध्यक्ष शुकराम केसी, वडा नम्बर ११ अध्यक्ष जुना दाहाल, जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख माधव कोईराला, बागमती प्रदेश फुटबल संघका महासचिव लवराज ठकुरीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतियोगिताको मुख्य प्रायोजक हेटौंडा उपमहानगरपालिका रहेको थियो भने सह-प्रायोजक हेटौंडा स्कूल अफ म्यानेजमेन्ट रहेको थियो। विभिन्न पालिकाहरू, वडा कार्यालयहरू, संघ संस्था तथा समाजसेवी, फुटबल प्रेमीहरूको साथ र सहयोग रहेको क्लबका अध्यक्ष रमेश उप्रेतीले बताउनुभयो।

प्रतिक्रिया