भव्यताका साथ सकियो दोस्रो निर्माण तथा व्यापार महोत्सव, दीपा बनिन् हेटौंडा आइडल
हेटौंडा / निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा भएको दोस्रो निर्माण तथा व्यापार महोत्सव भव्यताका साथ सम्पन्न भएको हो । यही फागुन ६ गतेबाट सुरु भएको मेलाको आइतबार (आज) समापन गरिएको हो ।
मेलाको समापन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पछिल्लो समय निर्माण व्यवसायीहरुको अवस्था धरासायी बनेको बताए । अध्यक्ष सिंहले निर्माण व्यवसायी आफ्नो पेशा व्यवसायबाट नै पलायन हुनुपर्ने स्थित सिर्जना भएको बताएका हुन् । सिंहले यस्तो अवस्थामा पनि निर्माण व्यवसायीलाई उत्साह जगाउन निर्माण तथा व्यापार महोत्सवको आयोजना गर्नुले निर्माण व्यवसायीहरु काममा मात्रै सिमित नरहेर सामाजिक र आर्थिक उत्तरदायित्वमा समेत अब्बल छन् भन्ने सन्देश दिएको समेत बताएका हुन् ।
निर्माण व्यवसायी संघ मकवानपुरको भवन निमाणरार्थ लक्ष्यले राखिएको निर्माण तथा व्यवापार महोत्सव उत्साजनक रुपमा सपन्न भएको आयोजकहरुको दाबी छ । करिब एक लाख टिकट बिक्री हुने लक्ष्य राखिएकोमा त्यति हुन नसकेको तथापी, महोत्सव सोचे अनुसार नै सम्पन्न भएको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कडेँलले बताए । करिब ३ सय वटा स्टल राखिएको महोत्सवमा १ लाख भन्दा बढी टिकट बिक्री गरिएको अनुमान रहेको अध्यक्ष कडेँलले बताए । राज्यबाट पाउनुपर्ने भुक्तानी रोकिएका कारण निराशामा रहेका निर्माण व्यवसायीहरुका उत्साह जगाएर निर्माण सामाग्रीहरुको बिक्री तथा अवलोकन गर्ने उदेश्यले सुरु भएको महोत्सवमा करिब १ लाख भन्दा बढीले अवलोकन गरेको आयोजकको दाबी छ । सामापन समारोहमा महोत्सव सम्पन्न गर्न सहयोग पुर्याउने विभिन्न संघ संस्थाहरु तथा व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
महोत्सवले हेटौंडा आइडल समेत घोषणा गरेको छ । मकवानपुरका नव गायनहरुको प्रतिस्पर्धाबाट दीपा स्याङ्तान हेटौंडा आइडल बनेकी छन् । यस्तै, सुशन सिंह ठकुरी दोस्रो भएका छन् भने दिलिप लामा तेस्रो, प्रकाश वाइवा चौथो र शुक्र महर्जन पाँचौ भएको हेटौंडा आइडल संयाेजक टाकाराज थापा (सुरेश) ले जानकारी दिए । हेटौंडा आइडल बनेकी स्याङ्तानलाई नगद ५१ हजार १५१ रुपैंया सहित प्रमाणपत्र, द्धितीय भएका ठकुरीलाई नगद २५ हजार ५५१, तीतृय भएका लामालाई १५ हजार ५५१ र चौथो र पाचौं भएका वाइवा र महर्जनलाई नगद ५ हजार १ रुपैंया सहित प्रमाणपत्र वितरण गरिएको संयोजक थापाले जानकारी दिए ।
यो महोत्सव १० वर्षपछि दोस्रो संस्करणको रुपमा आयोजना गरिएको हो । यसअघि संघको आयोजनामा राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव–२०७१ सम्पन्न भएको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कडेँलले जानकारी दिए ।



