विजेता खेलाडीहरूलाई हेटौंडा वडा नम्बर १५ द्वारा सम्मानपत्र र खेल सामग्री प्रदान
मकवानपुरको सिस्नेरीमा पहिरोमा परी ज्यान गुमाएका हेटौंडा–१२ का अनुपम घलानको स्मृतिमा सञ्चालित पहिलो संस्करणको “अनुपम घलान स्मृति नगरस्तरीय १६ वर्षमुनिको फुटबल प्रतियोगिता” को उपाधि हेटौंडा वडा नम्बर १५ ले जितेको छ। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ ले विजेता खेलाडीहरूलाई एक कार्यक्रमका बीच सम्मानपत्र प्रदान गरी सम्मान गरेको छ।
सोमबार (हिजो ) वडा कार्यालयले खेलाडी सम्मान कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रममा वडा खेलकुद विकास समितिका अध्यक्ष गोविन्द नेगीको अध्यक्षता तथा वडा नम्बर १५ का वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा खेलाडी सम्मान कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि तथा वडा अध्यक्ष सुनिल मोक्तानले विजेता खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा पनि आफ्नो जितको क्रम कायम राख्न शुभकामना व्यक्त गरे। उनले प्रविधिसँगै हरेक क्षेत्रको विकास भएसँगै खेलकुद क्षेत्रमा लागेका खेलाडीहरूलाई वडाको तर्फबाट सधैं साथ र सहयोग रहने प्रतिबद्धता जनाए। उनले स्मरण गर्दै भने, “हामी १६ वर्षको हुँदा मोजाको बल बनाएर खेल्थ्यौं, अहिले भने तपाईंहरूलाई राम्रोसँग खेल्न आवश्यक सम्पूर्ण सामग्रीको जोहो वडा कार्यालयले गरिदिनेछ।” साथै, उनले खेलाडीहरूलाई आफ्नो पहिचान देश र राष्ट्रका लागि स्थापित गर्न खेल क्षेत्रलाई कहिल्यै नबिर्सन आग्रह गरे। खेलकुदको लागि वडाले हरेक समस्या समाधान गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरे।
सम्मान कार्यक्रममा खेलाडीहरूलाई सम्मानपत्रका साथै फुटबल खेल्ने जुत्ता पनि प्रदान गरिएको थियो। कार्यक्रममा वडा सदस्यहरू पातली गोङ्ग्बा, मिनु विश्वकर्मा, सिंह बहादुर लामा, वडा सचिव कृष्ण बहादुर क्षेत्री, वडाका कर्मचारीहरू तथा खेलाडीका अभिभावकहरूको उपस्थिति रहेको थियो। कार्यक्रम शान्ती लामाले सञ्चालन गरेकी थिइन्।



