११८९ ट्याब्लेट लागुऔषधसहित दुई जना पक्राउ
हेटौंडा / मकवानपुर प्रहरीले ११८९ ट्याब्लेट लागुऔषध नाईट्राभेटसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं. १५ स्थित रातोमाटे चेकपोष्ट अगाडि सवारी साधनहरू रोकि चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारेको हो।
बिरगंजबाट काठमाडौं जाँदै गरेको ना ६४ प ३१७६ नम्बरको स्कुटर जाँच गर्दा चालक भक्तपुर चागुनारायण नगरपालिका वडा नं. ८ बस्ने २६ वर्षीय प्रेम प्रसाद दाहाल र सोही स्कुटरको पछाडि सवार २२ वर्षीया निकिता पुडासैनीलाई शंका लागि खानतलासी गर्दा स्कुटरको डिक्की भित्र लुकाएर राखिएको ११८९ ट्याब्लेट नाईट्राभेट फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गरेको लागुऔषधसहित दाहाल र पुडासैनीलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद थप अनुमती लिई अनुसन्धान जारी राखेको जानकारी दिएको छ।



