धार्मिक पर्यटन प्रवर्द्धनमा सबैको प्रतिबद्धता आवश्यक छः सांसद श्रेष्ठ
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७, ठूलोगङ्गटेस्थित अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलमा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ बुधबार समापन भएको छ। १० फिट अग्लो महादेवको मूर्ति स्थापना गर्ने उद्देश्यले आयोजित महायज्ञको समापन कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो।
प्रमुख अतिथि प्रदेशसभा सदस्य श्रेष्ठले अङ्गारेश्वर धार्मिक तथा पर्यटन स्थलको विकासका लागि सबै प्रतिबद्ध बन्नुपर्ने बताए। स्थानीय स्तरमा रहेका यस्ता स्थानहरूको संरक्षण, प्रवर्द्धन, र पूर्वाधार विकास गरी धार्मिक पर्यटनलाई अझ प्रभावकारी बनाउन सकिने बताउँदै यसले न केवल आध्यात्मिक चेतनाको अभिवृद्धि गर्छ, बरु स्थानीय अर्थतन्त्रलाई पनि सबल बनाउनेमा जोड दिए। बागमती प्रदेश सरकारमा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री भइरहँदा यस क्षेत्रको खानेपानी तथा सिँचाइका लागि विशेष बजेट विनियोजन गरेको बताउँदै प्रदेश सरकारको तर्फबाट यस्ता धार्मिक तथा सांस्कृतिक स्थलहरूको विकासका लागि आवश्यक पहल गरिने उनले प्रतिबद्धता व्यक्त गरे।
यस्तै, कार्यक्रममा मधेस प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल र समाजसेवी कमल बिष्टले महायज्ञले हाम्रो समाजमा धार्मिक चेतना जगाउने, युवा पुस्तालाई नैतिक आचरणमा स्थापित गर्ने, र सांस्कृतिक धरोहरको रक्षा गर्ने महत्वपूर्ण भूमिका खेल्ने बताए। महायज्ञमा करिब १३ लाख रुपैयाँ संकलन भएको महायज्ञ मूल समारोह समितिका संयोजक कृष्ण देव भण्डारीले बताए।
सो महायज्ञबाट संकलित रकमबाट मन्दिर परिसरभित्र १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिर परिसरमा भएको सभाहललाई स्तरोन्नति गर्ने, र मन्दिरको जग्गामा घेराबार (पर्खाल) निर्माण गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ।

