सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते, चालक फरार

सर्लाहीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गमा पर्ने ईश्वरपुर नगरपालिका–१३ मा रहेको बाँके जंगलमा बिहीबार साँझ ना.७ ख ३६४३ नम्वरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । महोत्तरीको बर्दिबासमा आयोजित लघुवित्त पीडितको प्रदर्शनमा सहभागी सहभागी भएर सर्लाही फर्किंदै गरेका यात्रु दुर्घटनामा परेका हुन् ।
बसमा ३५ जना सवार थिए। जसमध्ये १५ जना घाइते भएका हुन् । घाइते हुने अधिकांश महिला छन् । ‘घाइतेमध्ये दुई जनालाई अलिक बढी चोट लागेको छ । उहाँहरुलाई बाहिर रेफरको तयारी हुँदैछ,’ इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर सुजन पाठकले भने, ‘सबै घाइते खतरा मुक्त छन्।’
घाइतेको हाल लालबन्दीस्थित मोडेल अस्पताल र गाउँमैत्री अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनापछि चालक फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिको कारण बस पल्टिएको यात्रुले बताएका छन् ।
