हेटौंडाको ५ नम्बर वडा शनिबार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

पालिका डायरी
३ माघ २०८१, २१:२०

हेटौंडा /  हेटौंडा उपमहानगरपालिकाको ५ नम्बर वडालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।  विहीबार पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष सुशील घिमिरेले आगामी माघ ५ गते शनिबार नगरप्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा घोषणा गरिने बताए ।

घिमिरेले  यस अभियानको क्रममा बालश्रम न्यूनिकरण गर्न ७ जना बालकको उद्दार गरिएको बताए । हामीले होटल, ग्यारेज र ग्रील उद्योगमा बालश्रम भेटिएपछि तराई क्षेत्रका र भारतीय बालकहरुको उद्दार गरेका हौं, अध्यक्ष घिमिरेले भने । वडामा भाडामा बस्ने मनहरीका दुईवटा वालविवाहलाई हामी रोक्न सफल भयौं, र अभिभावकको जिम्मा लगाएका थियौं ।  बालबालिका सडकमा आउनुको कारण मुख्य आर्थिक कमजोर रहेको देखिन्छ, वडाले अभिभावकलाई रोजगारको क्षेत्रमा लगाएर पनि सहयोग गर्दै आइरहेको वडाध्यक्ष घिमिरेले बताए ।

वडामा २४ वटा बाल समूहमा ६ सय बालबालिका आवद्ध गरिएको उनले बताए । सामूदायिक र संस्थागतका साथै बालविकास केन्द्र गरी ९ वटा शैक्षिक संस्था सञ्चालित रहेको छ । वडामा दुई हजार १६ बालक र एक हजार सात सय ८२ जना बालिका रहेको नगर बाल सहजकर्ता सपना ढुङ्गानाले बताईन् । वडाले ५१ सुचकमा  ४७ सुचक सत्प्रतिशत  र ४ वटा सुचकमा घोषणाका लागि आवश्यक न्यूनतम प्रतिशत नतिजा हासिल गरेको उनले बताईन् ।

पूर्ण खोप वडा घोषणा, पूर्ण साक्षर वडा घोषणा, खुल्ला दिशामुक्त वडा घोषणा भई सकेको वडा सदस्य ज्ञानबहादुर थापाले बताए ।  बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र कार्यान्वयन कार्यविधि, २०७९ को मार्गदर्शन अनुसार वडाले बालमैत्रीको लागि पौन २ लाख बजेटमा आवश्यक तयारी गरिएको उनले बताए ।

वडा ५ मा घरधुरी सर्वेक्षण २०७९ अनुसार दुई हजार ८७५ घरधुरी रहेको छ भने १४ हजार १२७ जना कुल जनसंख्या रहेको छ ।  वडा नम्बर ५  नगरको ६.०७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया