समृद्धिका लागि बालश्रम अन्त्य हुनुपर्छः मन्त्री महर्जन
हेटौंडा / बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले समृद्धिका लागि बालश्रम अन्त्य हुनुपर्ने बताउनुभयो। मंगलबार (आज) हेटौंडामा आयोजित बालश्रम अन्त्यका लागि निजी क्षेत्रको भूमिका सम्बन्धि छलफल कार्यक्रममा बोल्दै मन्त्री महर्जनले बालश्रम अन्त्य नभएसम्म समृद्धि हासिल गर्न नसक्ने बताउनु भएको हो ।
मन्त्री महर्जनले पछिल्लो समय गरिबीका कारण मात्रै बालश्रम नहुने बताउनुभयो । बालबालिकाहरु बालश्रममा लाग्नुको मुख्य कारण परिवारिक कलह, अशिक्षा, विद्यालय टाढा हुनु लगाएतले पढाइ छोडेर बालश्रममा लाग्ने गरेको बताउनु भयो ।
यसरी समाजमा भएका बालश्रम अन्त्य गर्नका लागि प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नीतिगत ढंगबाट अघि बढ्न बालबालिकाहरुसँग सरोकार राख्ने संघ संस्थाहरुसँगको छलफल गरेर अघि बढ्ने बताउँदै मन्त्री महर्जनले भन्नुभयो, ‘परिवारमा कलह भएकै कारण बालबालिकाहरुले पढाई छाड्ने गरेका छन् । प्रायःजसको कलहरु आर्थिक अभावका कारण हुनेगरेको उदाहरणहरु थुप्रै छन् । जसकारण आर्थिक उपार्जन गर्ने क्रियाकलापहरु सञ्चालन गर्न मन्त्रालयले नीति बनाएर अघि बढ्छ ।’
मन्त्री महर्जनले बालश्रम अन्त्य गर्नका लागि प्रदेशका अन्तर मन्त्रालयको सम्बन्ध कायम राख्न जरुरी रहेको र आफूहरुले सामाजिक विकास र उद्योग मन्त्रालयसँग सहकार्य गर्ने प्रतिवद्धता समेत जनाए । विद्यार्थीहरुको विद्यालय टाढा भएकै कारण विद्यालय छोड्नेक्रम बढेको उहाँले बताउनुभयो ।
श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा स्वतन्त्रता अभियान नेपाल, दिगो विकास लक्ष्य ८.७ का लागि नागरिक मञ्च र राष्ट्रिय बाल संरक्षण सञ्जालको सहकार्य रहेको थियो । श्रम मन्त्रालयमा सचिव बलराम निरौलाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री महर्जनको प्रमुख आतिथ्यता रहेको थियो भने बालबालिकासँग सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधीहरुकाे उपस्तिथी रहेको थियाे ।