मन्त्री महर्जनद्वारा लाइसेन्स छपाईको अनुगमन, प्रदेशले छाप्न नियमावली संशोधन

पालिका डायरी
१४ पुष २०८१, २२:४८

हेटौंडा /  सरकारले सवारी तथा यातायात व्यवस्था नियमावलीमा दशौं संशोधन गरेर प्रदेश सरकारले क्यूआर कोड भएको लाइसेन्स प्रिन्ट गर्न सक्ने व्यवस्था गरेसंगै बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सवारी लाइसेन्स छपाईसम्बन्धी अनुगमन गर्नुभएको छ। महर्जनले यातायात व्यवस्था विभागमा हालको लाइसेन्सको छपाईको अवस्था, इम्बोस प्लेट आदिको अनुगमन गर्नुभएको हो।

मन्त्री महर्जनले भन्नुभयो, “लाइसेन्ससम्बन्धी अधिकार प्रदेशमा रहेकोले लाइसेन्स छपाईका लागि आवश्यक विषयमा जानकारी लिन र योजना निर्माणका लागि विभागमा छलफल गरेको छु। हामी छिट्टै आफैं लाइसेन्स छपाई गर्ने तयारी गर्दैछौं।”  लाइसेन्स छपाईका लागि आवश्यक विषयमा जानकारी लिन विभागको कार्यालय पुगेको मन्त्री महर्जनले जानकारी दिनुभयो।

मन्त्री महर्जनसँगै यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पौडेल, बागमती प्रदेश सदस्य जयराम थापा लगायतको सहभागी रहेकोे  थियो।

प्रदेश सरकारले क्यूआर कोड भएको लाइसेन्स प्रिन्ट गर्न सक्ने ।

सरकारले सवारी तथा यातायात व्यवस्था नियमावलीमा दशौं संशोधन गरेर प्रदेश सरकारले क्यूआर कोड भएको लाइसेन्स प्रिन्ट गर्न सक्ने व्यवस्था गरेको छ । गत पुस ९ गते बसको मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तले क्यूआरसहितको स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने व्यवस्थासहित नियमावली संशोधन भएको बताए। प्रदेश सरकारले क्यूआरसहितको स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने बाटो खुलाउन ताकेता गरिरहेका थिए। त्यही अनुसार नियमावली संशोधन गरिएको हो। अबदेखि प्रदेश सरकारले क्युआरसहितको स्मार्ट लाइसेन्स प्रिन्ट गर्न सक्नेछन्। साथै चिपसहितको लाइसेन्स प्रिन्ट गर्न पनि सक्नेछन्,’ उनले भने।

अब प्रदेश सरकारले आफैं लाइसेन्स प्रिन्ट गरेर चालकलाई वितरण गर्न सक्नेछन भने यातायात व्यवस्था विभागको मुख ताक्नुपर्ने अवस्था नियमावलीले अन्त्य गरेको छ। सोही अनुरुप बागमती प्रदेश सरकारले छिट्टै आफैं लाइसेन्स छपाई गर्ने तयारी गरिरहेको मन्त्री महर्जनको भनाइ छ।

प्रतिक्रिया