भीमफेदीमा दुई तल्ले विद्यालय भवन निर्माण हुने, लामाले गरे शिलान्यास

पालिका डायरी
१२ पुष २०८१, १७:२१

मकवानपुरको भीमफेदी गाउँपालिकामा नयाँ विद्यालय भवन बन्ने भएको छ। गाउँपालिका अध्यक्ष हिदम लामाले पोखरी प्राथमिक विद्यालयको वडा नम्बर-९ मा रहेको घडेरीमा बुधबार नयाँ भवनको शिलान्यास गरेका छन्।

विद्यालयको प्रधानाध्यापक निर्मला थिङका अनुसार २ तल्ले ८ कोठे भवन निर्माण हुन लागिएको हाे । हाल वडा नम्बर-२ मा रहेको विद्यालय भवन हुरीबतास, भूकम्प र चोरीको जोखिममा रहेकाले नयाँ भवन बनाउन लागिएको हो। नयाँ भवन हालको स्थानबाट आधा घण्टाको दूरीमा बन्नेछ।

बागमती प्रदेश सरकारको विशेष अनुदान अन्तर्गत १ करोड ९८ लाख रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको छ। निर्माण कार्य पुस ५ गतेबाट सुरु भएको छ। पुलामी एण्ड सन्स कन्स्ट्रक्सन प्रालिले भदौ महिनासम्म सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको छ ।

३ कठ्ठा जग्गामा बन्ने नयाँ भवनमा सुविधायुक्त शौचालय र खानेपानीको व्यवस्था हुनेछ। कक्षा-५ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल ३८ जना विद्यार्थी अध्ययनरत छन् । हालको विद्यालय ऐलानी जग्गामा रहेकोमा नयाँ भवन भने विद्यालयको आफ्नै जग्गामा निर्माण हुन लागेको छ ।

प्रतिक्रिया