हेटौंडा-१२ मा ३ ठूला दलको दाउ: माओवादी साख जोगाउने, एमाले र कांग्रेस झिनो मतान्तर मेटाउने
आउँदो मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदै छ । जसअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ को वडाध्यक्ष पदका लागि पनि मतदान हुँदै छ ।
२०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट हेटौंडा-१२ मा निर्वाचित वडाध्यक्ष ललितबहादुर घलान जिल्ला समन्वय समिति (मकवानपुर) को प्रमुख बनेपछि उक्त स्थान खाली भएको हो । त्यही पद पूर्तिका लागि मंसिर १६ गते उपनिर्वाचन गर्न लागिएको हो ।
वडातहकै उपचुनाव भए पनि अध्यक्ष पद आफ्नो पोल्टामा पार्न यतिबेला मकवानपुरका दल दौडधुपमा छन् । जिल्लाको एक ठाउँमा मात्रै उपचुनाव हुने भएकाले सबै राजनीतिक दलले यसलाई प्राथकिमतामा राखेका छन् ।
यस क्रममा जिल्लाका तीन ठूला राजनीतिक दलले आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरिसकेका छन् । नेकपा एमाले र नेपाली कांग्रेसले पुरानै अर्थात् गत चुनावकै उम्मेदवारलाई दोस्रोपटक मौका दिने भएका छन् । कांग्रेसले अर्जुन तिवारीलाई तथा एमालेले राजेश नगरकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेका हुन् । जो २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए ।
त्यसबेला विजयी माओवादी केन्द्रले भने उपचुनावका लागि युवा नेता रविन प्रधानलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । गत स्थानीय तह निर्वाचनमा हेटौंडा-१२ मा यिनै तीन दलबीच मुख्य प्रतिस्पर्धा भएको थियो। झिनो मतान्तरले चुनाव जितेका माओवादी उम्मेदवार ललितबहादुर घलान दोस्रोपटक अध्यक्ष पदमा विजयी भएका थिए । कांग्रेसका उम्मेदवार तिवारी ३१ मत कमले दोस्रो भएका थिए भने तेस्राे स्थानमा रहेका एमाले उम्मेदवार नगरकोटीले तिवारीभन्दा १५ मत मात्रै कम पाएका थिए ।
त्यो झिनो मतान्तर पुर्दै वडाध्यक्ष पद हत्याउन यतिबेला कांग्रेस र एमाले कम्मर कसेर लागेका छन् । यी पार्टीका सिंगो जिल्ला कमिटी नै उपचुनावमा केन्द्रित भएको छ । यस्तै माओवादी किल्लाका रूपमा परिचित यस वडामा पहिलेको जित कायम राख्न माओवादी केन्द्रले झन् जिल्ला समन्वय समिति प्रमुख घलानदेखि पार्टीका नेता-कार्यकर्ता परिचालन गरी केही महिनादेखि नै चुनावी अभियान सञ्चालन गरिरहेको छ ।
२०७४ र २०७९ दुवै चुनावमा आफ्ना उम्मेदवार घलान विजयी भएको हेटौंडा-१२ मा आफ्नो साख जोगाउन माओवादीलाई दबाब छ । त्यसैले यतिबेला माओवादीको ध्यान वडा नम्बर १२ मै खिचिएको छ भन्दा फरक पर्दैन।
कांग्रेसमा वडाध्यक्ष उम्मेदवारका लागि आधा दर्जनभन्दा बढी नाम सिफारिस भएका थिए । तर प्रदेश र जिल्ला कमिटी दुवैले पनि तिवारीलाई नै टिकट दिने निर्णय गरेको कांग्रेसका एक नेताले बताए । युवा संघ मकवानपुरका अध्यक्षसमेत रहेका एमाले उम्मेदवार नगरकोटी भने उपनिर्वाचन आफैँले जित्ने दाबी गर्छन् ।
आगामी मंसिर १६ गते देशका विभिन्न स्थानीय तहमा रिक्त रहेका ४४ पद पूर्तिका लागि उपनिर्वाचन हुँदै छ । यसअन्तर्गत बागमती प्रदेशमा पनि ७ स्थानमा मतदान हुँदै छ । जसले एक/एक नगरप्रमुख र गाउँपालिका उपाध्यक्षसहित ७ पदमा जनप्रतनिधि चुन्नेछ । बागमती प्रदेशका कीर्तिपुर नगरपालिकाको प्रमुख र दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धा हुँदै छ । बाँकी वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ।
जसमा काठमाडौँको कीर्तिपुर नगरपालिका-१, कीर्तिपुरकै वडा नम्बर ४, काठमाडौँ महानगरपालिका-१६, नुवाकोटको ककनी गाउँपालिका-२ र हेटौंडा-१२ का वडाध्यक्ष पद छन् ।



