सिस्नेरीको पहिरोमा बेपत्ता ६ जनाकै शव भेटियो, हेलिकप्टरमा काठमाडौँ लगिँदै

पालिका डायरी
१२ आश्विन २०८१, १८:३४

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीमा बेपत्ता भएका ६ जनाकै शव फेला परेको छ।

शनिबार (आज) बिहान कुलेखानी ड्यामको बाँध खोल्दा आएको बाढीले बगाएका ६ बालकमध्ये सबैजनाको शव फेला परेको इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए।

कुलेखानीको ड्याम खोल्ने सूचना पाएपछि विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा पहिरो सहित आएको बाढीले ती बालकहरू बेपत्ता भएका थिए। बेपत्ता विद्यार्थीहरूमा मकवानपुरका अनुप घलान, दिवश बानियाँ र सुमन योञ्जन, काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलम्पाकी र बाराका विकल रेग्मी छन्।

उनीहरूको शव पोष्टमार्टमका लागि माठमाडौं लान लागिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिए । उनका अनुसार मृतक बालकको शव र अन्य विद्यार्थीहरुलाई सेनाको हेलीकप्टर मार्फत काठमाडौँ लाने तयारी गरिएको हो।

सिस्नेरीमा रहेको श्री बत्सलादेवी माध्यामिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीमा पशिक्षणका लागि राखिएका उक्त विद्यार्थीहरूलाई पहिरो सहित आएको बाढीले बगाएको हो।

प्रतिक्रिया