कुलेखानी ड्याम भरियो, दुवै ढोका खोल्ने तयारी
हेटौंडा / मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी ड्याम भरिन सक्ने भन्दै सुरक्षा अपनाउन स्थानीयहरूलाई अनुरोध गरिएको छ । बिहीबारदेखि परेको वर्षाका कारण कुलेखानी तालमा पानीको सतह बढेको भन्दै सुरक्षित रहन अनुरोध गरिएको हो ।
ड्याममा पानी भरिने अवस्थामा पुगेको र ड्यामको बाँधको सुरक्षाका लागि मुख्य ड्यामका ढोकाहरू खोल्नपर्ने भएकोले नदी तटिय क्षेत्रमा खोलाको बहाव बढ्न सक्ने भन्दै सुरक्षित रहन नेपाल विद्युत प्राधिकरण, कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।
ड्यामको ढोका खोल्दा हुन सक्ने जोखिमबाट बच्न प्रभावित क्षेत्रका नागरिकहरुमा अनुरोध गरिएको भट्टले बताए। उनका अनुसार कुलेखानीमा अहिले पानीको सतह १५२६.९ मिटर छ । कुल १५३० मिटर क्षमता भएको कुलखानी दिनभरको वर्षापछि अहिले प्रति २ मिनेटमा ३ सेन्टिमिटर बढिरहेको छ । कुलेखानी ताल भरिन १.५ मिटर बाँकी रहेको कारण रातभरको बर्षाले भरिनसक्ने अनुमान गरिएको केन्द्र प्रमुख भट्टको भनाइ छ ।




