मनहरीमा विद्यालयबाट घर फर्कने क्रममा बाढीले बगाएर एक बालिकाको मृत्यु, एक घाइते
हेटौंडा / विद्यालयबाट घर फर्कने क्रममा बाढीले बगाएर एक बालिकाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी गुरुङडाँडाकी १४ बर्षीया रञ्जिता गुरुङलाई बाढीले बगाएको हो। मंगलबार (आज) साँझ ५ बजेतिरको समयमा विद्यालयबाट घर फर्कदैं गरेकी रञ्जितालाई मोरङगे खोल्सा तर्ने क्रममा बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
स्थानीय जितेन्द्र गुरुङको छोरी रञ्जिता युनाइटेड बोडिङ स्कुलमा अध्यनरत थिइन्। बाढीले बगाएको रञ्जिताको शव घटनास्थलबाट करिब २ किलो मिटर तल भेटिएको मकवानपुर प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको बताइएको छ।
खोल्सा तर्ने क्रममा एक्कासी बाढीले बगाएपछि रञ्जितासँगै घर फर्किएको १७ बर्षको इशान गुरुङले बचाउने प्रयास गरेको सोही वडाका वडाअध्यक्ष नारायण उप्रेतीले जानकारी दिए। सोही क्रममा इशान पनि घाइते भएको अध्यक्ष उप्रेतीको भनाइ छ । ‘सँगै आएको साथीलाई बगाएपछि आत्तिएर बचाउन खोजेछन्,’ वडाध्यक्ष उप्रेतीले भने, ‘सोही क्रममा इशानको शरीरमा चोटपटक लागेको छ। अत्तालिएको कारण मानसिक समस्या देखिएको छ। डराउने, रुने, हाँस्ने गरिरहेका उनलाई उपचारका लागि अस्पताल लगिएको छ।’
उनलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको वडाध्यक्ष उप्रेतीले जानकारी दिए।



