हेटौंडा–१० नम्बर वडालाई भदौ ८ गते बालमैत्री वडा घोषणा गरिने
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० लाई यही भदौ ८ गते शनिबार निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको छ ।
आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गर्दै १० नम्बर वडाका वडाअध्यक्ष फुर्वा दोर्जे लामाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको जानकारी दिए ।
बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरूमा अभ्यास गरी ४९ वटा सूचकहरु १०० प्रतिशत, १ वटा सूचक ९५ प्रतिशत, र १ वटा सूचक ८१ प्रतिशत सम्म नतिजा हासिल भएको अध्यक्ष लामाले बताएका छन् ।
वडामा घरधुरी तथ्याङ्क सङ्कलन २०७९ अनुसार १८ वर्ष मुनिका बालबालिकाको जनसङ्ख्या १ हजार ८ सय ९५ रहेको छ । जसमा ९ सय ९६ बालक र ८ सय ९९ बालिका रहेका छन् ।
कुल बालबालिकाको जनसंख्यालाई आधार मान्दा ५२.६ प्रतिशत बालक र ४७.४ प्रतिशत बालिका रहेका छन्न । वडामा सामुदायिक र संस्थागत गरी ४ वटा विद्यालयहरू सञ्चालनमा रहेका छन् ।
साथै १० वटा बालसमुहहरु र १ वडा बालसञ्जाल रहेको छ । जसमा २५० जना बालबालिकाहरू आवद्ध रहेका छन् । बालमैत्रीका लागि पुरा गर्नुपर्ने सूचकहरू पुरा गरेर बालमैत्री वडा घोषणाको तयारी गरिएको अध्यक्ष तामाङले बताए ।


