प्रदेशको औचित्य पुष्टि गर्नेगरी काम गर्न एमालेका मन्त्रीहरुलाई इन्चार्ज भट्टराईको निर्देशन

पालिका डायरी
२९ श्रावण २०८१, २०:३६
प्रदेशको औचित्य पुष्टि गर्नेगरी काम गर्न एमालेका मन्त्रीहरुलाई इन्चार्ज भट्टराईको निर्देशन

हेटौंडा  / नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज डा. राजन भट्टराईले प्रदेशको औचित्य पुष्टि गर्नेगरी काम गर्न निर्देशन दिएका छन्। मंगलबार बागमती प्रदेश नेकपा एमाले संसदीय दलको कार्यालयमा एमालेबाट नियुक्त भएका मन्त्रीहरुलाई सम्बोधन गर्दै इन्चार्ज भट्टराईले यस्तो निर्देशन दिएका हुन्।

इन्चार्ज डा. भट्टराईले पछिल्लो समय प्रदेशप्रति देखिएको वितृष्णालाई हटाउन नियुक्त भएका मन्त्रीहरुले राम्रो काम देखाएर जनतालाई आशा जगाउनुपर्ने बताए। एमालेबाट नियुक्त भएका मन्त्रीहरुलाई यतिबेला आफ्नो योग्यता, क्षमता र इमानदारिता देखाउने अवसर भएको बताए। पार्टीले विश्वास गरेर पठाएका मन्त्रीहरुलाई जनतासँग जोडिनका साथै ख्याल गरेर काम गर्न समेत निर्देशन दिए।

त्यसैगरी, नेकपा (एमाले) बागमती प्रदेश अध्यक्ष तथा पूर्व मन्त्री कैलाश ढुंगेलले पनि सुनौलो बागमती निर्माण गर्नका लागि एमालेबाट नियुक्त भएका मन्त्रीहरुलाई अवसर भएको बताएका छन्। यो सरकार लामो समयसम्म जाने बताउँदै ढुंगेलले चुस्त दुरुस्त भएर अगाडि बढ्न आग्रह गरे।

नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीहरुलाई परिणाम आउने गरी काम गर्न निर्देशन दिएका छन्। कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले वर्तमान अवस्थामा भइरहेको गतिविधिका बारेमा ब्रिफिङ गरेका थिए।

कार्यक्रममा नेकपा (एमाले) पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पार्वत गुरुङ, केन्द्रीय सल्लाहकार सदस्य तथा पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, केन्द्रीय सदस्य बाबुराम थापा, बागमती प्रदेश उपाध्यक्ष दावादोर्जे लामा लगायत मन्त्री तथा सांसदहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया