बागमतीमा लम्पी स्किन विरुद्ध सप्ताहव्यापी खोप लगाइने

हेटौंडा / बागमती प्रदेश सरकारले शुक्रबारबाट सप्ताहव्यापी रुपमा लम्पी स्किन विरुद्धको खोप लगाउने भएको छ । बिहीवार प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गाईभैंसीमा लाग्ने लम्पी स्किन रोग विरुद्धको खोप सप्ताहव्यापी लगाइने जानकारी गराइएको हो ।
प्रदेशका १३ जिल्लामा ७६ हजार २ सय ७५ गाईभैंसीमा लम्पी स्किन रोग विरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ । प्रदेशका १३ जिल्लामा रहेको ८ वटा पशु सेवा कार्यालयबाट शुक्रबार एकैपटक खोप अभियानको सुरुवात गरिने बताइएको हो । अघिल्लो बर्ष माहामारीकै रुपमा फैलिएको लम्पी स्किन नियन्त्रण गर्नका लागि खोप अभियान चलाइएको थियो । उक्त खोप अभियानमा ४८ हजार ३ सय ६४ पशुलाई खोप लगाइएको मन्त्रालयको तथ्यांक छ ।
प्रत्येक बर्ष लगाउन पर्ने खोप यसबर्ष पनि सप्ताहव्यापी अभियान नै सञ्चालन गरेर लगाउन लागिएको मन्त्रालयले जनाएको छ । खोप लगाउने स्थानको पहिचान, लजिष्टिक व्यवस्थापन, जनचेतनामूलक सामाग्रीहरुको प्रचारप्रसार, समन्वय बैठक, अभिमुखीकरण लगायतका क्रियाकलापहरु समेत सम्बन्धित पशु सेवा कार्यालयहरुद्वारा गरिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेशको १३ वटै जिल्लामा लम्पी स्किन विरुद्धको खोप लगाउन सुरु गरिने छ । प्रदेशका ८ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत खोप लागाउन ३ सय ७६ जना भ्याक्सिनेटर नियुक्त गरिएको हो । त्यसोत, यही साउन ९ गते नियुक्त भएका कृषि मन्त्री प्रकाश श्रेष्ठले लम्पी स्किन विरुद्धको खोप अभियान सञ्चालन गर्ने भन्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । सोही अनुरुप आफ्नो निर्णय कार्यान्वयन गर्दै अभियान सुरु गर्न लागिएको मन्त्री श्रेष्ठले बताए ।
किसानहरुको पशुधन संरक्षण गर्नका लागि प्रदेश सरकार सधैं तत्पर रहेको बताउँदै मन्त्री श्रेष्ठले अभियानका समयमा छुटेका गाईभैंसीलाई अन्य समयमा पनि निरन्तर खोप लगाइने जानकारी दिए ।