बागमतीका मुख्यमन्त्री जम्कट्टेलले साउन ६ मा विश्वासको मत लिने

पालिका डायरी
३१ असार २०८१, १६:४१
मुख्यमन्त्री जम्कट्टेलको काँधमा ७ मन्त्रालयको जिम्मेवारी

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले साउन ६ गते विश्वासको मत लिने भएका छन् ।

सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले साउनको पहिलो हप्ता विश्वासको मत लिने निर्णय गरेको बताएका हुन्।

संघमा एमाले–कांग्रेस नेतृत्वको सरकार गठन भएपछि मुख्यमन्त्री जम्मकट्टेलले सोमबार (आज)  एकीकृत समाजवादी बागमतीका संसदीय दलका नेता कृष्ण प्रसाद खनाल र हाम्रो नेपाली पार्टीका संसदीय नेता शैलेन्द्रमान बज्रचार्यबीच छलफल गरेर साउन ६ गते विश्वासको मत लिने निर्णय गरेको बताएका हुन् ।

उनले प्रक्रियागत रूपमा नै नयाँ गठबन्धनलाई सरकार निर्माणको वातावरण तयार गर्ने योजनाले विश्वासको मत लिन लागिएको बताए । ‘साउनको ६ गते विश्वासको मतका लागि मिति तय गर्ने निर्णय गरेका छौं,’ मुख्यमन्त्री जम्मकट्टेलले भने। मुख्यमन्त्री जम्मकट्टेलले सदनमा विश्वासको मतको फेस गरेर मात्रै सरकार छोड्न लागेका हुन् ।

सात राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमतीमा ११० सांसद छन् । जसमा केन्द्रमा बनेको नयाँ सत्ता समीकरण अनुसार एमाले र कांग्रेस मिलेर बागमतीमा पनि नयाँ सरकार गठनका लागि दलहरु लागि परेका छन्। केन्द्रमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मतमा नसघाएको राप्रपाले बागमतीमा पनि जम्मकट्टेल नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्भावना न्यून छ। नेपाल मजदुर किसान पार्टीले यसअघि अप्ठेरो स्थितीको विश्वासको मतमा समेत सघाएको थिएन ।

एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले भने माओवादीका जम्मकटेटेललाई विश्वासको मत दिन तयार देखिएका छन् । बागमती प्रदेश सभामा माओवादीका २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

प्रतिक्रिया