हेटौंडामा मनाइयो गौरवको यात्रा

पालिका डायरी
२६ जेष्ठ २०८१, ११:१६

हेटौंडा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले हेटौंडामा शुक्रबार ‘गौरव यात्रा’ मनाएका छन् । यौनिक तथा लैंगिक समुदायकाले प्रत्येक बर्ष अंग्रेजी संवत् अनुसार जुन महिनालाई गौरवको महिनाको रुपमा मनाउने गरेका छन् । सोहि अनुरुप फ्रेन्ड्स हेटौंडा, निलहिरा समाज लगाएतका संघ संस्थाहरुको संयोजनमा मकवानपुरमा रहेका यौनिक ताथा लैंगिक अल्पसंख्यक समुदायले गौरवको यात्रा मनाएका हुन्। हेटौंडाको हुप्राचौरमा उनीहरुले गौरवको यात्रा मनाएका हुन् ।


विश्वभर जुन महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइन्छ । २० औं शताब्दीको ६० औँ दशकमा भएको स्टोनवाल विद्रोहको स्मृतिमा यस महिनालाई गौरव महिना घोषणा गरिएको हो। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जनसंख्या अन्तर्गतका विभिन्न पहिचानयुक्त समूहहरूले यस महिनालाई विशेष रूपमा मनाउने गरेका छन् ।
गौरव अर्थात् प्राइडको सुरुवात समाजले यी विभिन्न पहिचानयुक्त समूहहरूलाई अवहेलना गरी यस्तो हुनु एउटा लज्जाको विषय भनी लाञ्छित तुल्याउने भएकाले आफ्नो लैङ्गिक पहिचान तथा यौनिक पहिचान लज्जाको विषय नभएको र त्यसमा गौरव गर्ने नारा सहित सुरु भएको पाइन्छ ।


सोही गौरव महिनाको अवसरमा हुने भेला तथा ¥याली कार्यक्रमलाई गौरव यात्रा (प्राइड परेड) भन्ने गरिएको फ्रेन्ड्स हेटौंडाकी संयोजक किरण थापाले बताइन् । ‘यो हाम्रो अधिकारको आन्दोलन हो। समानताको लडाइँ हो। महिला र पुरुष बाहेक भिन्न लैङ्गिक पहिचान भएका व्यक्तिहरुका बारेमा आम मानिसलाई सचेत गराउने अभियान हो,’ फ्रेन्ड्स हेटौंडाकी संयोजक थापा भन्छिन्,‘दुई दशकदेखि हामी आफ्नो अधिकारका लागि गाइजात्रा पर्वलाई पनि उत्सवका रुपमा मनाइरहेका छौं। चार वर्ष यता ‘प्राइड मन्थ’ मार्फत आन्दोलनलाई सशक्त बनाउन खोजिरहेका छौं।’


प्राइड मन्थलाई विश्वभर एउटा महत्वपूर्ण आन्दोलनको हिस्साका रुपमा मनाइँदै आएको सन् १९७० देखि हो । सन् १९६९ को जुन २८ मा अमेरिकाको न्युयोर्कस्थित स्टोनवाल इन बारमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्रहरीबाट भएको दमन विरुद्ध आन्दोलनले सफलता पाएपछि यसको प्रारम्भ भएको तथ्यहरु भेटाइन्छ । त्यसपछि विश्वभर जुन महिनालाई गौरवको महिना भनेर मनाउन थालिएको हो । समानता र समताका लागि यो आन्दोलन विभिन्न आयामका रुपमा विश्वका देशहरुमा मनाइँदै आएको छ । नेपालमा यसले विस्तारै प्रभाव जमाउँदै र आन्दोलनलाई उच्च स्थानमा स्थापित गर्दै लगेको छ ।


यी समूदायले यसबर्ष नेपालमा गौरवको महिनालाई आफ्ना मुद्दाहरु अगाडि सार्दै आन्दोलन र उत्सवलाई संगै अघि बढाएका छन् । समुदायले प्रजनन स्वास्थ्यमाथिको अधिकार, राजनीतिक अधिकार, रोजगार, वैवाहिक समानताका अधिकार, पहिचानको अधिकारदेखि नागरिकता, जन्मदर्ता र शैक्षिक प्रमाणपत्रमा समेत पहिचान खुलाउन सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया