खुवा बेच्न हिँडेका प्रेमबहादुर, हिँड्न नसकेर कार चढेको दुई मिनेटमै कालोपहिरोमा अस्ताए

पालिका डायरी
५ जेष्ठ २०८१, २०:५७
खुवा बेच्न हिँडेका प्रेमबहादुर, हिँड्न नसकेर कार चढेको दुई मिनेटमै कालोपहिरोमा अस्ताए

घडीको सुईले लगभग साढे सात बजाइसकेको थियो । भीमफेदी गाउँपालिका–८ गंगटे गाउँका प्रमेबहादुर ब्लोन हतारमा थिए । बिहान सबेरै घट्ट पुगेर फर्किएका उनी हातमा एउटा झोला बोकेर सडकमा हिँडिरहेका थिए ।

घट्टको भारी बिसाएर श्रीमतिले बनाएको खुवा पुर्‍याउन पसल हिँडेका थिए, ब्लोन । आफन्तहरूले बताए अनुसार, अघिपछि कहिल्यै उनी सवारी चढ्न उति चासो गर्दैन थिए । तर, शनिबार बिहानै ‘हुने हार दैव नटार’ भनेझैँ भयो ब्लोनलाई।

६५ वर्षीय बुढो शरिर बिहानै घट्ट पुगेर फर्कंदा थकित थियो । त्यही बेलामा परबाट ग ३ च ९४७५ नम्बरको कार आइरहेको देखे । छिटोभन्दा छिटो खुवा पसलमा पुर्‍याउने ध्याउन्नमा रहेका उनले छिटो पुग्ने सोच बनाए । आफू जानुपर्ने दिशातिरै आइरहेको सो कारलाई रोक्न इसारा गरे ।गाडी रोकियो । गाडीमा दुई युवा सवार थिए ।

प्रहरीले दिएको जानकारी अनुसार, उनीहरू काठमाडौँ एयरपोर्टमा आफन्तलाई वैदेशिक रोजगारीका लागि बिदाइ गरेर फर्किएका रहेछन् । गाडीमा रौतहटको मौलापुर नगरपालिकाका–१७ का वर्षीय विवश साह र सन्दीप साह थिए । सन्दीपले गाडी चलाइरहेका थिए भने विवश छेवैको सिटमा बसेका थिए ।

खुवा पुर्‍याएर घर फर्कने सोच बनाएका ब्लोन चढेको गाडी बकैया–१२ स्थित कालोपहिरोमा दुर्घटनामा पर्‍यो । कारमा सवार तीनमध्ये विवश र प्रेमबहादुरले भने धर्ती छाडिसकेका छन् । सन्दीपको अहिले हेटौँडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार, सन्दीपको पनि अवस्था चिन्ताजनक छ ।

प्रहरीले उद्धार गरेर ठिंगन स्वास्थ्य चौकीसम्म पुर्‍याउँदा उनीहरू तीनै जना अचेत थिए । थप उपचारका लागि हेटौँडा अस्पताल ल्याइयो । तर, विवश र प्रेमबहादुरको ज्यान बच्न सकेन । उनीहरू दुवैको शव अहिले हेटौँडा अस्पतालमा छ । अस्पतालमा भेटिएका उनका आफन्त जीतबहादुर ब्लोन भन्छन्, ‘अरु बेला गाडि चढ्नै नमान्ने मान्छे आज दसा लागेरै चढ्नुभएछ !’

यो बाटोमा उति धेरै स्थानीय सार्वजनिक सवारी चल्दैनन् । गंगटेबाट केही मिनेट हिँडेर आइसकेका प्रेमबहादुर विगत ३/४ वर्षदेखि त्यही बाटोमा खुवा बेच्न ओहोरदोहोर गर्थे । आधा घन्टाको पैदल यात्रामा प्रेमबहादुर खुवा बेच्ने पसल पुग्थे । ‘बिहान घट्ट गएर आएको थकाईले होला, आजै उहाँले हिँड्न अल्छि गर्नुभएछ,’ भतिज नाता पर्ने जीतबहादुर दुःखी हुँदै सुनाउँछन् ।

प्रेमबहादुरकी श्रीमती कान्छिमायाले निकै बेरपछि मात्रै खबर पाइन् । कार भिरबाट खसेको हल्ला त गाउँमा चलेको थियो । तर, आफ्नै कामको सुरुमा रहेकी कान्छिमायाले धेरै सोधीखोजी गरिनन् । सधैँ पैदलमै पसल जाने श्रीमान् कारमा चढे होलान् भन्ने उनको कल्पनामा समेत थिएन । ‘हेटौंडा जाँदै गरेको कार रैछ, कसलाई के भयो होला?,’ उनको मनमा यत्ति मात्रै थियो । तर, केहीबेरमा उनले आफ्नै श्रीमान् समेत सोही कारमा रहेको सुनेपछि पत्याउनै सकिनन् ।

‘बल्लतल्ल हामीले काका नै हो भन्नेमा काकीलाई विश्वास गरायौँ,’ जीतबहादुरले सुनाए, ‘पहिले त हामीले पनि त्यति ख्याल गरेनौँ ।’  घरमा प्रेमबहादुर र कान्छिमाया मात्रै बस्दै आएका थिए । उनीहरूका तीन छोरी र दुई छोरा छन् । छोराहरू पनि रोजगारीको सिलसिलामा घरबाहिरै छन्  उनीहरू सबैको बिहे भइसक्यो। अहिले प्रेमबहादुर र विवशको शव पोस्टमार्टमको प्रक्रियामा छ। आफन्तहरू सोच्दै नसोचेको घटनाको सामना गरिरहेका छन्।

प्रतिक्रिया