बिनाविभागीय मन्त्री आलेमगरलाई जिम्मेवारी दिन बागमतीमा मन्त्रालय थपियो, संख्या १३ पुग्यो

पालिका डायरी
२ जेष्ठ २०८१, २१:०१

बागमती प्रदेशकी बिनाविभागीय मन्त्री रमा आलेमगरले ४४ दिनपछि विभागीय जिम्मेवारी पाएकी छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता गंगा नारायण श्रेष्ठले बताए ।

आलेमगरलाई जिम्मेवारी दिनका लागि सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको बताइएको हो । यो सँगै बागमतीमा मन्त्रालयको संख्या १३ पुगेको छ ।

१९ चैत २०८० मा बिनाविभागीय मन्त्री नियुक्त भएकी आलेमगर मुख्यमन्त्री जम्कट्टेलले सदनबाट विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभा बैठकमा उनले तीन घण्टा ढिलो गरेकी थिइन् । दिउँसो १ बजेका लागि बोलाइएको बैठक उनकै कारण ४ बजेका लागि सारिएको थियो ।

आफू काठमाडौंमै रहेको बताउँदै आलेमगर हेटौंडा आउन आनाकानी गरेपछि मुख्यमन्त्री जम्कट्टेलले मन्त्री नियुक्त गरिदिने शर्तमा प्रदेश सभा बैठकमा बोलाएका थिए ।

मुस्किलले सत्ता बाहिर रहेको हाम्रो नेपाली पार्टी (हानेपा) को समर्थन जुटाएका मुख्यमन्त्रीलाई सत्ता साझेदारले नै धोका दिने स्थिति आएको थियो। तर उनले सत्ता टिकाउनका लागि त्यही दिन तुरुन्तै आलेमगरलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

बिनाविभागीय मन्त्री नियुक्त गरिएसँगै उनले भौतिक पूर्वाधार विकास मन्त्रालयको दाबी गरेकी थिइन् । चन्द्रागिरी नगरपालिकाकी आलेमगर काठमाडौं निर्वाचन क्षेत्र १० (ख) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

नेकपा एकीकृत समाजवादी पार्टीबाट निर्वाचित उनको प्रदेश सभामा दोस्रो कार्यकालको यात्रा हो।

प्रतिक्रिया