बागमती प्रदेशका मन्त्री श्रेष्ठद्वारा मालपोत कार्यालय हेटौंडाको निरीक्षण

पालिका डायरी
१ जेष्ठ २०८१, १८:२९

हेटौंडा /  बागमती प्रदेशका उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले मालपोत कार्यालय हेटौंडाको निरीक्षण गरेका छन् । मंगलबार मन्त्री श्रेष्ठले मालपोत कार्यालयको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले हेटौंडाको नापी कार्यालय र मालपोत कार्यालयलाई प्रदेशकै नमुनाको रुपमा विकास गर्ने योजना रहेको हुँदा सोही अनुसार लाग्न निर्देशन दिएका छन् ।


हाल मालपोत कार्यालयहरूमा आउने गरेको जनगुनासो र कार्यालयमा देखिएको समस्याको समाधानमा लागिपर्न प्रमुख मालपोत अधिकृत ऋषि कुमार दाहाल र अधिकृतहरूलाई निर्देशन दिएका छन् । साथै जनतालाई दिइने सेवामा कुनै कसर बाँकी नराखी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । विशेषगरि मालपोत कार्यालयहरूमा सुशासनको काम नभएको जनगुनासोहरू आउने गरेको हुँदा त्यस कुराको अन्त्य हुनेगरि काम गर्न मन्त्री श्रेष्ठले सुझाएका हुन् । 


त्यस्तै संघीय सरकारबाट मालपोत कार्यालयलाई कुनै बजेट नछुट्याउने भएको हुँदा कार्यालय सञ्चालनमा समस्या आएको कार्यालयका प्रमुख ऋषि कुमार दाहालले भनाई थियो । बागमती प्रदेश सरकारले मालपोत कार्यालयहरूलाई बजेट दिएता पनि शीर्षक तोकिएर दिइएको हुँदा उक्त रकम शीर्षक अनुसार काम गर्नुपर्ने हुन्छ ।  त्यस कारण कार्यालय सञ्चालनमा समस्या भएकोमा आगामी दिनमा भने मालपोत कार्यालयले संकलन गरेको राजश्वको आधारमा केही प्रतिशत रकम सशर्त अनुदानको रुपमा दिनुपर्ने मन्त्री श्रेष्ठको धारण रहेको थियो । 

प्रतिक्रिया