तीन दिने प्रदेश युवा सम्मेलन हेटौंडामा सुरु

पालिका डायरी
२८ बैशाख २०८१, १७:२४
तीन दिने प्रदेश युवा सम्मेलन हेटौंडामा सुरु

बागमती प्रदेश युवा सम्मेलन २०८१ सुरु भएको छ। ३ दिन चल्ने सम्मेलन प्रदेशको राजधानी हेटौंडामा आज (शुक्रबार) बाट सुरु भएको हो।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले युवा सम्मेलनको आयोजना गरेको हो। युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए।

उनका अनुसार परिषद्ले प्रदेश युवा नीति–२०७९ तयार पारेसँगै प्रदेशमा युवाका क्षेत्रमा काम गर्न सहजता मिलेको थियो। युवाहरूको आवश्यकता, माग, उद्यमशीलता लगायतका विषयमा काम गर्न नीतिगत रूपमा सहजता मिलेको उनको भनाइ छ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्ेलले सम्मेलनको औपचारिक उद्घाटन गरेका हुन्। विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका १८ देखि ३० वर्षका २ सय भन्दा बढी युवाकोे सहभागिता रहेको आयोजकले जनाएको छ। युवा सम्मेलन क्षमता विकास तथा उद्यमशीलता र रोजगारीसँगै सीप विकासमा उपयोगी हुने बताइएको छ।

सम्मेलनमा सहभागी युवालाई नै लक्षित गरी अन्तरक्रिया, बहस, कार्यशाला, सहभागीबीच आपसी सञ्जाल निर्माण, प्रेरक सन्दर्भको व्याख्या र नेतृत्व तथा व्यक्तित्व विकाससँग सम्बन्धित क्रियाकलाप गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया