राज्यकोषको ढुकुटीमा सभामुखको रजाइँः कार्यकक्ष सजावटमा १० लाख, आवासमा ४४ लाख खर्च

पालिका डायरी
१७ बैशाख २०८१
राज्यकोषको ढुकुटीमा सभामुखको रजाइँः कार्यकक्ष सजावटमा १० लाख, आवासमा ४४ लाख खर्च

हेटौंडा / गणतन्त्र र प्रदेश खारेजीको एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) त्यही व्यवस्था र संरचनाका पद र सुविधा लिन भने पछि पर्दैन । यसै क्रममा बागमती प्रदेश सभाको नेतृत्व पनि राप्रपाले लिएको छ । अर्थात् यहाँ राप्रपाबाट निर्वाचित सांसद भुवनकुमार पाठक सभामुख छन् ।

उनी बागमती प्रदेश सभाको दोस्रो सभामुखका रूपमा गत पुसमा निर्वाचित भएका हुन् । तर पहिलो कार्यकालका सभामुख सानुकुमार श्रेष्ठ (एमाले) ले बिताएको कार्यकक्षको सुविधाले उनलाई पुगेन ।

त्यसैले उनले लाखौँ खर्चेर सभामुखको कार्यकक्षको साजसज्जा पूरै परिवर्तन गराएका छन् । फर्निचर, कार्पेट, वाल फिनिसिङदेखि गलैँचासम्म । सचिवालय भवनमा संरचना निर्माण तथा मर्मतसुधार शीर्षकको बजेटबाट सभामुख पाठकले लाखौँ रकम आफ्नो कार्यकक्ष सिंगारपटारमा ओइर्‍याएका हुन् । सभामुख कार्यकक्ष सजावटका लागि झण्डै १० लाख रुपैयाँ खर्च भएको प्रदेश सभाको लेखा शाखाले जनाएको छ ।

लेखा शाखा प्रमुख बालकृष्ण अधिकारीका अनुसार सभामुखको कार्यकक्ष चिटिक्क पार्न ९ लाख ८८ हजार १ सय रुपैयाँमा आर.बी.एस. कन्ट्रक्सनलाई ठेक्का दिइएको थियो। २०८० पुस २३ गते काम थालेको कन्ट्रक्सनले कार्यकक्षका सबै सामान हटाउँदै बीचमा पार्टिसन रहेको दुई कोठालाई एउटै बनाएर नयाँ डेकोरेसन बनाएको छ । जसमा महँगा सामान प्रयोग गरिएका कारण झण्डै १० लाख रुपैयाँ खर्च भएको हो ।

लेखा शाखा प्रमुख अधिकारीका अनुसार मर्मतबापतको उक्त रकम प्रदेश सभाले २०८० चैत २ मा कन्ट्रक्सनलाई भुक्तानी गरिसकेको छ ।कार्यकक्ष चिटिक्क मात्र होइन, सभामुख पाठकलाई हरेक सामान ब्रान्डेड नै चाहिने प्रदेश सभाका एक कर्मचारीले बताए । ‘उहाँ अलि ठूलै घरानाको हुनुहँदो रहेछ । सबै सामान महँगो तिरेर भए पनि ब्रान्डेड नै होस् भन्ने चाहनुहुन्छ,’ ती कर्मचारीले  भने ।

सभामुख पाठक र उपसभामुख अप्सरा चापागाईँका कार्यकक्ष एउटै तलामा आपनेसामने छन् । आफ्नो कार्यकक्ष मर्मतमा झण्डै १० लाख खर्चिएका सभामुख पाठकले उपसभामुख चापागाईँको कार्यकक्षलाई भने उपेक्षा गरेका छन् ।

 

आवासमा ४४ लाख खर्च

झन्डै १० लाख खर्चेर कार्यकक्ष चिरिच्याट्ट पारेका सभामुख पाठकले हेटौँडा-१०, राप्तीरोडमा रहेको सरकारी आवास मर्मतका लागि पनि झन्डै ४४ लाख रुपैयाँमा ठेक्का दिइसकेका छन् ।

कम्पाउन्ड वाल निर्माण, रंगरोगन तथा भित्री सजावट गर्न ४४ लाख ६२ हजार ३० रुपैयाँमा ठेक्का लगाएर काम सुरु भइसकेको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ ।

आवास मर्मत पनि सचिवालय सभा भवनमा संरचना निर्माण तथा मर्मत सुधार शीर्षकको बजेटबाट भइरहेको लेखा शाखा प्रमुख अधिकारीले बताए । उनका अनुसार उक्त बजेट सभामुख, उपसभामुख र प्रदेश सचिवका आवासमा कम्पाउन्ड बनाउने योजनाअन्तर्गत विनियोजन भएको हो । तर उपसभामुखको आवास मर्मत पछि गर्ने भन्दै सभामुख पाठकले हाल भने आफ्नै आवासमा मात्रै काम गर्न निर्देशन दिएको स्रोत बताउँछ ।

२०३६ सालदेखि नै राजतन्त्र र पञ्चायतका पक्षमा लागेका पाठकको यो कदमले उनलाई सामन्तवादको आरोप नलाग्ला भन्न नसकिने राजनीतिक विश्लेषक बताउँछन्।

छाडेका छैनन् महामन्त्री पद
सभामुख निर्वाचित भएपछि दलगत जिम्मेवारीबाट अलग हुनुपर्ने प्रावधान छ । तर उनले अहिलेसम्म राप्रपाको महामन्त्री पदबाट राजीनामा नदिएको एक नेता बताउँछन् । सभामुख पाठक राप्रपाको समानुपातिक कोटाबाट पहिलोपटक प्रदेश सभा छिरेका हुन् ।

२०३६ सालको जनमत संग्रहका बेला उनी पञ्चायत समर्थक नेपाल राष्ट्रिय छात्र संगठनको अध्यक्ष बने । त्यहीँबाट राजनीति अघि बढाएका उनी त्यसपछि पञ्चायत समर्थक युवक संगठनको सचिव बने ।

२०४६ सालको जनआन्दोलनपछि पञ्चायत पक्षधरले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरेपछि उनी त्यही पार्टीको युवा संगठनको अध्यक्ष बने । २०५९ सालमा राप्रपाको पोखरा महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । २०६४ सालमा कमल थापाले राप्रपा नेपाल गठन गरेपछि उनीसँगै रहेका पाठकले २०७८ सालको राप्रपा एकता महाधिवेशनमा थापाकै प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिए ।

अध्यक्षमा थापा राजेन्द्र लिङ्देनसँग हारे पनि पाठक भने महामन्त्रीमा विजयी भए । यसअघि पाठकले राप्रपाको सहायक महामन्त्री, प्रवक्ता र संगठन विभागको प्रमुख भएर काम गरिसकेका छन् ।

प्रतिक्रिया