बागमतीको हिउँदे अधिवेशन : ५६ दिनमा ५ घण्टा बैठक, विधेयक दर्ता शून्य

पालिका डायरी
१५ बैशाख २०८१, १४:०४
बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य भयो। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। सोही निर्णय बमोजिम प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरे।

१५ फागुनबाट सुरु भएको अधिवेशन ५६ दिन चल्यो। प्रदेशमा रहेका नागरिकका हितमा ऐन कानुन निर्माण गर्ने थलो प्रदेश सभा पछिल्लो समय आरोप प्रतयारोपको केन्द्र जस्तै बनेको छ। दलीय भागवण्डाको दलदलमा फसेको प्रदेश सभाको उपलब्धि जनताले पाएनन्।

नागरिकका हितमा ऐन निर्माण हुनुपर्नेमा प्रदेश सभा बैठक दलहरुबीच आरोप प्रत्यारोपमै सिमित भयो। सरकारको काम परे सदन डाक्ने नभए चुपचाप बस्ने प्रवृत्ति हाबी भएको नेपाल मजदुर किसान पार्टी बागमतीका संसदीय दलको नेता सुरेन्द्रमान गोसाइँले बताए।

बैठकमा प्रदेशको विकास र हितका विषयमा कुरा कम उठ्ने तर ठूला दलहरुबीच भागवण्डा र एकले अर्कालाई आरोप लगाउँदैमा बैठक सकिने गरेको नेता गोसाइँ बताउँछन्।

विधेयक दर्ता शून्य
राजनीतिक खिचातानीमा रुमलिएको बागमती प्रदेश सभामा हिउँदे अधिवेशनमा कुनैपनि विधेयक दर्ता नै भएन।

पाँच दिन बसेको बैठक पाँच घण्टा चल्यो। तर यस अधिवेशनभर प्रदेश सभामा कुनै पनि विधेयक दर्ता नभएको प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेश सभाको दोस्रो अधिवेशनमा समितिमा रहेका तीनवटा विधेयकमाथि छलफल समेत हुन पाएन।

संसदीय समितिमा टेबल भएका कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रद्र्धन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्वास्थ्य सेवा ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयमाथि छलफल नहुँदै हिउँदे अधिवेशन अन्त्य भएको प्रदेश सभाका प्रवक्ता मनोज कुमार गुप्ताले बताए।

उनका अनुसार उक्त विधेयकको काम दोस्रो अधिवेशनमै सकिसक्नुपर्ने थियो। तर तेस्रो अधिवेशनसम्ममा पनि छलफलमा नपरेपछि विधेयक निर्माणमा ढिलाई हुने प्रवक्ता गुप्ताले बताए।

दलहरुको खिचातानीमै अधिवेशन अन्त्य
हिउँदे अधिवेशनको पहिलो बैठक १५ फागुन २०८० मा बस्यो। उक्त बैठकले बागमती प्रदेशका पूर्व सदस्य बलराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो। पौडेलको निधन प्रति संसदमा एक मिनेट मौनधारण समेत गरेर बैठक स्थगित गरिएको थियो।

दोस्रो बैठक १७ फागुन २०८० मा बसेको दोस्रो बैठकले बजेट तथा कार्यक्रम विशेष समिति गठन गर्यो। ११ सदस्यीय समितिले चालु आर्थिक बर्षको बजेट रकामान्तर गर्ने सम्बन्धि छलफल गर्नेगरि समिति गठन गरिएको थियो भने सोही दिन बसेको तेस्रो बैठकमा हस्तकलाग्राम विधेयक सम्बन्धि सैदान्तिक छलफल भएको थियो।

यस्तै, प्रदेश सभाको चौथो बैठक २९ फागुन २०८० मा बसेको थियो। उक्त बैठकमा हस्तकलाग्राम विधेयक समितिमा पठाइयो भने बजेट तथा कार्यक्रमका विषयमा छलफल गर्न बनेको बिशेष समितिले तयार गरेको प्रतिवेदन पेश गरिएको थियो।

त्यसको भोलिपल्ट अर्थात् ३० फागुनमा बसेको पाँचौ बैठकमा विशेष समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरेर प्रदेश सभाबाट पारित गरिएको थियो। यस्तै, हिउँदे अधिवेशनको अन्तिम बैठक १९ चैत २०८० मा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सदनबाट विश्वासको मत लिएका थिए। यसरी प्रदेश सभाको हिउँदे अधिवेशन चलेको थियो।

प्रदेश सभाको मर्म विपरित राजनीतिक भागवण्डा, बजेटको विवाद तथा दलहरुको खिचातानीमै अधिवेशन अन्त्य भएको छ।

प्रतिक्रिया