बागमती सरकारमा एकीकृत समाजवादीका एकजना ‘इन्ट्री’ हुने, दुई मन्त्री ‘ब्याक’

पालिका डायरी
४ बैशाख २०८१, २०:५७
बागमती सरकारमा एकीकृत समाजवादीका एकजना ‘इन्ट्री’ हुने, दुई मन्त्री ‘ब्याक’

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका मन्त्री हेरफेर हुने भएका छन् ।

हाल रहेका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ र श्रम रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्साल मन्त्रिपरिषदबाट बिदा हुने एकीकृत समाजवादीले जनाएको छ ।

मन्त्रीद्वयलाई ब्याक गराएर थप एक मन्त्री नियुक्त गरिने तयारी भैरहेको एकीकृत समाजवादीका एक नेताले बताए । बागमती प्रदेशमा यसअघिको माओवादी, कांग्रेस र एकीकृत समाजवादीको सत्ता गठबन्धनमा मन्त्री नियुक्त भएका उनीहरू मन्त्रीपदबाट हट्न लागेका हुन् ।

दुई मन्त्रालय पाउन लागेकाे एकीकृत समाजवादीले गत चैत १९ गते बिनाविभागीय मन्त्री नियुक्त भएकी रमा आलेमगरलाई पनि जिम्मेवारी दिइने छ ।

एक वर्ष मन्त्री बनिसकेका लम्साल र श्रेष्ठलाई व्याक गराएर नयाँ अनुहारलाई पालो दिन यस्तो योजना बनाएको हो। नयाँ अनुहारको रुपमा नवनियुक्त मन्त्री आलेमगरसँगै अर्का सांसद वसन्त प्रसाद मानन्धर मन्त्री नियुक्त गर्ने तयारी गरिएको हो ।

मानन्धर काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ (१) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । तीन मन्त्री रहेको एकीकृत समाजवादीलाई मागेकै दुई मन्त्रालय दिनेगरी एक मन्त्री ब्याक गराउने सहमती जुटेको संसदीय दलका नेता कृष्णप्रसाद खनालले बताए।

उनका अनुसार नेकपा एसले मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समक्ष भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र खानेपानी उर्जा तथा सिँचाइ मन्त्रालयमध्ये एक आफूले पाउनुपर्ने सर्त राखेको थियो । सो सर्तअनुसार अघि बढ्ने मौखिक सहमती भएको नेता खनालको भनाइ छ।

यससँगै अब बागमतीमा मन्त्रालयको संख्या नबढ्ने भएको छ। हाल रहेका १२ मन्त्रालयमै भाग पुग्नेगरी आफूहरुले मन्त्री फिर्ता गर्न लागेको खनाल बताउँछन्।

प्रतिक्रिया