जरायो शिकार काण्डमा मुछिएका बागमतीका सांसद खड्काले पाए सफाइ

पालिका डायरी
४ बैशाख २०८१, १४:१२

हेटौंडा / पर्सा राष्ट्रिय निकुञ्जको जरायो चोरी शिकारमा मुछिएका बागमती प्रदेश सभा सांसद श्यामबहादुर खड्काले सफाइ पाएका छन् । अवैध रुपमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र प्रवेश गरी वन्यजन्तुको शिकार गरेको मुद्दा खेपिरहेका सांसद खड्का सहितका टालीले सफाई पाएका हुन् । उनी सहित मधेश प्रदेश सभा सांसद प्रमोद कुमार जयसवाल र सखुवाप्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष प्रदीप जयसवाल समेतले सफाई पाएका हुन् । शिकारमा प्रयोग भएको सवारी साधन र हातहतियार समेत जफत नगरी फिर्ता गर्ने फैसला भएको छ ।

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले वन्युजन्तुको अवैध चोरी सिकारीको घटनामा संलग्न रहेको आरोपमा दुई प्रदेश सभा सांसद सहित ४७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । २०८० पुस १७ मा निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामचन्द्र खतिवडाले घटनास्थलमा रंगेहात पक्राउ परेका ५ सहित ११ जनालाई बिना इजाजत निकुञ्ज क्षेत्रमा निलगाई तथा चित्तलको सिकार गरेको पुष्टि भएकाले दोषी ठहर गरेका छन् भने दुई सांसद र पूर्वगाउँपालिका अध्यक्षले भने सफाई दिएका छन्। गत माघ ४ मा निकुञ्जको जमुनिया खोला क्षेत्रमा अवैध रुपमा प्रवेश गरी भएको वन्यजन्तु सिकारबारे अनुसन्धान थालेकोे थियो ।

सांसद खड्का र जैयसवाल तथा पूर्वगाउँपालिका अध्यक्षले मतियारको रुपमा काम गरेको ठहर गर्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २७ बमोजिम सजायको माग दाबी गरिएको थियो । उनीहरुलाई कसुरदारलाई लाग्ने सजायको सजायको आधा हुने गरी ५० हजार जरिवाना र एक वर्षसम्मको जरिवाना माग गरिएको थियो ।

पक्राउ परेका प्रतिवादीहरु झापसदास थारु, नवराज बस्नेत, विशाल सहनी, दामोदार अधिकारी, म्लाङडोङ तामाङ, प्रकाश केसी, सुलम मियाँ अन्सारी, भोलाबहादुर थापा पुन मगरलाई ऐनको दफा २६(३) बमोजिम सजायको माग दाबी गरिएको थियो ।
यता, सदन प्रवेश गर्नेबित्तिकै जरायो प्रकरणमा मुछिएका साांसद खड्का आफू निर्दोष रहेको बताउँदै आएका थिए । यसमा आफ्नो कुनै सग्लंनता नभएको बताउँदै कुनै पनि घटनामा नमुछिएको दाबी गर्दै आएका उनले गल्ती नगरेकै कारण सफाई पाएको बताउँछन् ।

उनका अनुसार घरमा राखेको बन्दुक कसैले चारेर दुरुपयोग गरेको बताउँछन् । आफूसँग भएको लाइसेन्सवाला बन्दुक अरुले चोरेर प्रयोग गरिदिएको कारण यस प्रकरणमा मुछिन पुगेको सांसद खड्काको दाबी छ ।
खड्का गत मंसिर ४ को आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ (ख) मा नेपाली कांग्रेसबाट विजयी भएका हुन्। नेकपा (एमाले) का उम्मेदवार दीपक निरौलालाई पराजित गर्दै खड्का बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

 

प्रतिक्रिया