अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा बागमती प्रदेश प्रथम

पालिका डायरी
२ बैशाख २०८१, २१:१५

प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेश प्रथम भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गरेको अन्तरप्रदेश खेलकुदमा ६१ स्वर्ण ४३ रजत र ३६ कांस्य गरि कुल १४० पदकसहित बागमतीले प्रथम स्थान हासिल गरेकाे हो ।

गत चैत्र २५ गतेदेखि बैशाख २ गते आईतबारसम्म भएको प्रतियोगितामा २१ स्वर्ण, २१ रजत र २९ कास्यसहित ७१ पदकका साथ सुदूरपश्चिम प्रदेश दोस्रो तथा १६ स्वर्ण, २३ रजत र ३६ कांस्य पदकसहित ७५ पदक जितेको कोशी प्रदेश तेस्रो भएको छ ।

त्यस्तै प्रतियोगितामा गण्डकी, लुम्बिनी र कर्णालीले समान ११ स्वर्ण पदक जित्दै क्रमश चौथो, पाँचौ र छैठौं स्थानमा रहेका छन् । गण्डकीले १८ रजत र २० कांस्य गरी ४९ पदक जितेको छ । भने, १६ रजत र २८ कास्य जितेको लुम्बिनीको कुल ५५ पदक तथा १० रजत र २४ कास्य जितेको कर्णालीको ४५ पदक जितेको छ । यस्तै मधेश प्रदेशले ३ स्वर्ण, ३ रजत र १५ कांस्य पदक गरेर २१ पदक जितेको छ ।

प्रतियोगितामा ९ खेलमा १३४ स्वर्ण, १३४ कास्य र १८८ कास्य पदक गरि कुल ४५५ पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराँते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेल समावेश गरिएको थियो । प्रतियोगितामा विभिन्न खेलको लागि ७ प्रदेशका १ हजार ७८५ जना खेलाडी, प्रशिक्षक, प्राविधिक टिम, निर्णायक र खेलाडी गरी २ हजार ७३० जनाले सहभागिता जनाएका थिए ।

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चैत्र २५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरी सुरु भएको प्रतियोगिताको समापन कार्यक्रम हेटौंडा–६, स्थित गौरीटार रंगशालामा आईतबार भएको हो । आईतबार बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षता एवम् मुख्यमन्त्री शालिकराम जम्कटेलको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो ।

प्रतिक्रिया