नेपाल हस्तकला महासंघद्वारा बागमतीका नव नियुक्त मन्त्रीहरूलाई स्वागत तथा बधाई

पालिका डायरी
३ बैशाख २०८१, ०८:४५
नेपाल हस्तकला महासंघद्वारा बागमतीका नव नियुक्त मन्त्रीहरूलाई स्वागत तथा बधाई

नेपाल हस्तकला महासंघद्वारा बागमती प्रदेश सरकारका नव नियुक्त मन्त्रीहरू उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ, संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्य र वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेललाई नेपाल हस्तकला महासंघको आयोजनामा आइतबार स्वागत तथा बधाई कार्यक्रम सम्पन्न गरेकाे छ ।

नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्ला र ११९ पालिकाहरूमा ती पालिकाहरूको प्रकृति अनुसार हस्तकला ग्राम स्थापना तथा सञ्चालन अध्यादेश जति सक्दो चाँडो पारित गरि दिन अनुरोध गर्नुका साथै प्रदेश स्तरीय हस्तकला नीतिको स्वीकृति, सार्क हस्तकला विकास केन्द्र सञ्चालन, हस्तकला व्यापार तथा हस्तकला प्रतियोगिता सञ्चालन, हस्तकला विश्व विद्यालय स्थापनामा प्रदेश सरकारको सहयोगको लागि अध्यक्ष शाक्यले बागमती प्रदेश सरकार समक्ष आग्रह गरे ।

सो अवसरमा ३ वटै विभागीय मन्त्रीहरूले हस्तकला क्षेत्रको प्रवर्द्धनको लागि आफ्नो मन्त्रालयले आ–आफ्नो कार्य क्षेत्र भित्र पर्ने कार्यहरुलाई प्राथमिकता पूर्वक कार्यान्वयन गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । उहाँहरूले प्रदेश भित्रका मन्त्रालय तथा कार्यालयहरुमा हस्तकलाको प्रयोग बढाउने, हस्तकला ग्राम स्थापना तथा संचालन विधयक संसदबाट पारित गरी कार्यान्वयन गराउने, आगामी आर्थिक वर्षको वजेटमा सम्बन्धित संस्था कै नाम उल्लेख गरी बजेट विनियोजन गर्ने व्यवस्थाको थालनी गर्ने, हस्तकला नीति स्वीकृत गरी कार्यान्वयन गर्ने, वनजन्य उद्योगमा आधारित हस्तकला वस्तुको लागि आवश्यक पर्ने कच्चा पदार्थहरु काठ, ढुङ्गा सहज रुपबाट उपलब्ध गराउने आदि प्रतिवद्धता उक्त कार्यक्रममा व्यक्त गरे ।

सो कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष श्री सागर शमशेर राणाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यसै गरी कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्री सनम शाक्यले धन्यवाद ज्ञापन गरेका थिए भने नेपाल हस्तकला महासंघ र हस्तकला उद्योग व्यवसायको बारेमा प्रस्तुतिकरण सहित कार्यक्रम संचालन महानिर्देशक श्री उत्तम प्रसाद देवकोटाले गरेका थिए ।

प्रतिक्रिया