उद्योगहरु चलायमान बनाएर रोजगारी सिर्जना गरिन्छः मन्त्री श्रेष्ठ
बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठले बागमती प्रदेशमा उद्योग चलायमान बनाएर रोजगारी सिर्जना गरिने बताए । बिहीवार गैसस महासंघ बागमती प्रदेशको आयोजनामा आयोजित शुभकामना आदानप्रदान तथा बधाई कार्यक्रममा मन्तव्य राख्दै मन्त्री श्रेष्ठले उद्योग चलायमान बताएर स्वदेशमै रोजगारी सिर्जना गरिने बताएका हुन् ।
बागमती प्रदेश भित्र सञ्चालनमा रहेका उद्योगहरु र नयाँ सम्भावना भएका उद्योगहरुको खोजी गर्ने बताउँदै उनले भने, ‘उद्योग स्थापना बृद्धि गर्दै उद्योग व्यवसायलाई विकास गर्ने कुरामा बागमती प्रदेश सरकार प्रतिबद्ध हुनेछ। रोजगारीको लागि विदेशिने युवाहरुलाई अब नेपालमै काम गर्ने वातावरण निर्माण गर्न पहल गर्नेछु।’
प्रदेश भित्र युवा तथा महिलाहरु रोजगारीमा आवद्ध हुन नसकेको अवस्था प्रति आफू गम्भीर रहेको बताउँदै उनले थपे, ‘सरकारले नागरिक प्रति लगानी गर्न नसकेको र सरकार प्रति विश्वास गर्न नसकेको अवस्थालाई मध्यनजर गर्दै नागरिकको साथमा सरकार छ भन्ने महसुस हुनेगरी काम गर्छु। उद्यौगिक ग्राम सञ्चालन गरेर रोजगारी सिर्जनाको वातावरण तयार गर्न हरदम तयार रहनेछु ।’
मन्त्री श्रेष्ठले बागमती भित्रै रोजगारी सिर्जना गर्नुपर्ने बताए । त्यस्तै, उत्पादित बस्तुहरुलाई एक पालिका एक उद्यमशील उत्पादन बस्तु बिक्री केन्द्र तथा कोसेली घर निर्माण गरिने मन्त्री श्रेष्ठले बताए।
कार्यक्रममा विभिन्न संघ संस्थाले बागमती प्रदेशको नवनियुक्त उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठ, वन तथा वातावरण मन्त्री केशव पोखरेल लाई बधाई तथा शुभकामना प्रदान गरेका हुन् ।