३ दिने क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम सम्पन्न
जी न्याैपाने
हेटौंडा / हेटौंडामा टोल विकास संस्थाका पदाधिकारीहरूलाई दिइएको क्षमता विकास तथा लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाको आयोजनामा गरिएको ३ दिने तालिममा हेटौंडा १० र ११ नम्बर वडाका ५५ जना सहभागी थिए ।
टोल विकास संस्थाका अध्यक्ष, उपाध्यक्ष , सचिव ,कोषाध्यक्षहरूका लागि लक्षित गरि तालिमको आयोजना गरिएको हो । टोल विकास समन्वय समिति नगर अध्यक्ष धुर्ब अधिकारीको सभाध्यक्षतामा भएको तालिममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
हेटौंडा ११ को सामुदायिक प्रहरी सेवा केन्द्रको भवनमा भएको तालिम उद्घाटनमा हेटौंडा ११ नम्बरको वडाध्यक्ष जुना दाहाल , टोल विकास संस्था नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल , उपमहासचिव देवकुमार श्रेष्ठ टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञ बहादुर आचार्य लगायतको आतिथ्यता रहेको थियो । तालिममा शिवहरी दाहाल , देवकुमार श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए ।


