सरकार गठनमा संकट आइपरे राप्रपाले निकास दिने
हेटौंडा / बागमती प्रदेश सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अन्तिम अवस्थामा सरकारलाई समर्थन गर्न सक्ने बताएको छ । तत्काल सरकारमा जाने र समर्थन गर्ने बिषयमा राप्रपा सकारात्मक नहरे पनि सरकार गठनको अन्तिम अवस्थामा संकट आइपरे राप्रपाले निकास दिने बताएको हो ।
राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले तत्काल सरकारमा जाने स्थितीमा राप्रपा नरहे पनि संकट आइपरेको अवस्थामा आफूहरुले सहयोग गर्ने बताएका हुन् । ‘हामी सरकारबाट राजीनामा दिएर बाहिरिएका हौं । अब सरकारमा जाने भन्ने हुँदैन ।’ उनले भने, ‘तर मध्यावधिमा जाने अथवा सरकार गठन नै सम्भव नहुने अवस्थामा हामी सहकार्य गर्न सक्छौं भन्ने हो । बार्गेनिङ गर्ने, सरकारमै जाने भन्ने चाहिँ होइन ।’
केन्द्रमा बनेको एमाले–माओवादी लगाएतको नयाँ सत्ता समीकरणले बागमती प्रदेशको सरकार गठनको प्रक्रिया नै पेचिलो बन्दै गएको छ । ११० प्रदेश सभा सदस्य रहेको बागमतीमा केन्द्रीय गठबन्धन अनुसार एमाले, माओवादी र एकीकृत समाजवादी गरी तीन दल छन् । सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक हुन्छ ।
सत्ता साझेदार दलहरुले बागमती प्रदेशमा मात्रै प्रतिनिधित्व गरेको हाम्रो नेपाली पार्टीलाई सरकारमा ल्याएर विश्वासको मत प्राप्त गर्ने रणनीति बनाइरहेका छन् । तर जसरी पनि आफ्नै दलको खाँचो परेको भन्दै सत्ताको बार्गेनिङ गर्न थालेपछि एमाले र माओवादीका नेताहरुले राप्रपा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लाई फकाउन सुरु गरेको सांसदहरु बताउँछन् ।
बागमतीमा प्रदेश सभाको सत्ता साझेदार दल मध्ये ठुलो संख्यामा रहेको एमालेको २७, माओवादीको २१ र एकीकृत समाजवादीको ७ सिट छ । जुन सरकार गठनका लागि प्रर्याप्त होइन। ५५ सिटले सरकार गठनका लागि बहुमत नपुग्ने भएपछि यी दलहरुले साना दलसँगको सहकार्यमा जोड दिइरहेका हुन् ।
यदी, राप्रपा सरकारमा नगए पनि सरकारलाई विश्वासको मत दिएको खण्डमा सहज रुपमा बागमती सरकारलाई बहुमत पुग्छ । राप्रपाको १२ सांसद छन् । विश्वासको मतका लागि सत्ता साझेदार दलहरुले आफूहरुसँगको सम्बाद बढाइरहेको राप्रपा संसदीय दलका नेता थापा बताउँछन् । यता, यसअघि दुई पटकसम्म बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिएर सत्ता पक्षको सिटमा बस्दै आएको हानेपा तेस्रो पटकको विश्वासको मतका लागि बिच्किएको माओवादीका एक सांसदले बताए । सहज रुपमा विश्वासको मत पाउने स्थितीमा सहयोग गरेको हानेपाले यो पटक सत्तामा बार्गेनिङ बढाएको ती सांसदले बताए ।
‘दुई सिट मात्रै रहेको हानेपाले दुई मन्त्रालय र एउटा संसदीय समितिको सभापति समेत चाहिन्छ भन्ने कुरा आएको छ । ६ महिनाको लागि एक जना गैर सांसद ल्याएर भएपनि सत्ता आफ्नै पोल्टामा पार्ने खेल सुरु गरेको हानेपाले सरकारलाई सहयोग गर्ने भन्दा पनि संविधानलाई कमजोर बनाउने काम गरेको जस्तो लाग्छ,’ उनले भने ।
बागमतीमा सात राजनीतिक दलको प्रतिनिधित्व छ । प्रदेश सभाको ठुलो दल नेपाली कांग्रेसको ३७ सिट छ। एमालेको २७, माओवादीको २१, राप्रपाको १२, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हानेपाको २ सिट छ ।



