प्रदेश सभामा दर्ता भएको हस्तकला स्थापना तथा सञ्चालन सम्बन्धि विधेयक माथि छलफल

पालिका डायरी
२८ फाल्गुन २०८०, २०:११

हेटौंडा / बागमती प्रदेश सभामा दर्ता भएको हस्तकला स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था सम्बन्धि विधेयक–२०८० माथि छलफल भएको छ । सोमबार काठमाण्डौमा प्रदेश सभाका सदस्यहरुसँग नेपाल हस्तकला महासंघले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

संसदमा तत्कालीन उद्योग बाणिज्य भूमि तथा प्रशासन मन्त्रीले फागुन १७ गते प्रस्तुत गर्नु भएको उक्त विधेयकमाथि छलफल गरिएको हो । बागमती प्रदेश सभाका सभामुख भुवन पाठकको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा निवर्तमान उद्योग मन्त्री रामकृष्ण चित्रकारले आफ्नो कार्यकालमा बागमती प्रदेशको पहिचान र आर्थिक आधारशिलाको रुपमा रहेको हस्तकलाको विकास गर्न यो बिधेयक ल्याएको बताउनुभयो। यसलाई छिटो र छरिटो ढंगले पारित गर्ने वातावरण बनाई दिन सांसदहरुलाई आग्रह गर्दै उहाँले प्रदेशको समृद्धि, रोजगारको विकास, कलाको उत्थान र सरकारको राजश्व बृद्धिको लागि यो बिधेयक कानूनमा रुपान्तरण भएपछि वरदान सावित हुने बताउनुभयो ।

यस्तै कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सभामुख भुवन पाठकले बिधेयक काठमाण्डांै देशको राजधानीको हिसाबले मात्र होइन, कला र संस्कृतिको राजधानी भएको हिसावले पनि महत्वपूर्ण रहेको बताउनुभयो । यो बिधेयक ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने निर्वतमान मन्त्रीलाई धन्यवाद दिदैं सभामुख पाठकले विधेयक कार्यान्वयन भएपछि बागमती प्रदेश हस्तकला ग्राम बन्नेमा दुईमत नरहेको बताउनुभयो ।
हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यको सभाध्यक्षतमा भएको कार्यक्रममा शाक्यले विधेयकको औचित्य माथी प्रकाश पार्नुभएको थियो भने मन्त्रालयका सचिव राजेन्द्र कुमार केसीले बिधेयकको बिषयवस्तु बारे प्रस्तुतिकरण प्रस्तुत गर्नुभएको थियो ।

संसदका उद्योग पर्यटन र वातावरण समितिका जेष्ठ सदस्य याङ्किला शेर्पा, महासंघका संस्थापक अध्यक्ष सागर शम्शेर राणा, वरिष्ठ उपाध्यक्ष सनम शाक्य लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामा, प्रदेश सभा सदस्य सरल सहयात्री, युवराज चौलागाईं, श्रीराम लामिछाने, प्रभात तामाङ्ग, पूर्व सांसदहरु शोभा शाक्य, माधव पौडेल लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया