हेटौंडाकी नगर प्रमुखलाई सम्मान

पालिका डायरी
२४ फाल्गुन २०८०, १७:५७
हेटौंडाकी नगर प्रमुखलाई सम्मान

हेटौंडा / औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानद्वारा महिलाहिंसा तथा चेलिबेटी बेचबिखनविरुद्ध योगदान पुर्याएको भन्दै हेटौंडाकी नगर प्रमुख मीनाकुमारी लामालाई सम्मान गरिएको छ ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित नारी सम्मान कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख लामालाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्मानित गरेका हुन् । उदाहरणीय नेतृत्व, समाज र समुदायप्रति समर्पणको कदर गर्दै उनलाई सम्मान गरिएको हो । उनले भनिन्–राष्ट्रिय सम्मानबाट सम्मानित हुन पाउँदा निकै खुशी महसुस भइरहेको छ । उनले आफ्नो सेवाको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरेकामा आयोजक संस्था चन्द्रलोक प्रतिष्ठानलाई धन्यबाद व्यक्त गरेकी छन् ।

समुदायको उन्नतिका लागि अथक् परिश्रम गर्ने र आफुले ग्रहण गरेको पुरस्कार सबै महिलाहरुलाई समर्पित गरेको उनले बताइन् । उक्त सम्मान समुदाय र देशका लागि महत्वपूर्ण योगदान पुर्याउने महिलालाई दिइने राष्ट्रिय पुरस्कार हो । उनलाई उनको उत्कृष्ट उपलब्धि र नेतृत्वलाई मान्यता दिने विशेषज्ञको प्यानलद्वारा सम्मानका लागि चयन गरिएको थियो ।

चन्द्रलोक प्रतिष्ठानद्वारा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभअवसरमा आयोजित नारी सम्मान कार्यक्रम प्रतिष्ठान अध्यक्ष सीताराम कार्कीको सभाध्यक्षता थियो । प्रतिष्ठित संस्था चन्द्रलोक प्रतिष्ठान कला संस्कृति जगेर्ना गर्ने चेतनामूलक वृत्तचित्र बनाउने, प्राकृतिक प्रकोपमा सक्रियतासाथ लाग्ने सामाजिक संस्था रहेको जानकारी संस्था अध्यक्ष कार्कीले बताए । कार्यक्रममा उपसभामुख इन्दिरा राना र जयन्तीदेवी राईलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ३० महिलाहरुलाई सम्मानित गरिएको थियो ।

प्रतिक्रिया