बागमती सरकारमा रहेका ६ मन्त्रीले राजीनामा दिदैं
हेटौंडा / केन्द्रको सत्ता समीकरण फेरबदल भएसँगै कांग्रेस सरकारबाट बाहिरिने क्रम जारी छ। जसअनुसार बागमती प्रदेश सरकारबाट पनि कांग्रेस बाहिरिने भएको छ। केन्द्रमा भएको गठबन्धन नै भत्किएपछि प्रदेश सरकारमा बसिरहनु उचित नभएको कारण राजीनामा दिन लागिएको कांग्रेसले बताएको हो।
‘हाम्रो संसदीय दलका नेता अर्थ मन्त्री ज्यू ९ बजे काठमाण्डौं ल्याण्ड हुनुहुनेछ। त्यसपछि हामी प्रदेशको राजधानी हेटौंडा आएर राजीनामा दिने तयारीमा छौं, ‘कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता एवं प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकारले भने, बागमती प्रदेश सरकारमा रहेका कांग्रेसका हामी ६ जना मन्त्रीले नै राजीनामा दिन लागेका हौं।
बागमतीमा १२ सदस्यीय मन्त्रीपरिषद्मा आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, वन तथा वातावरण मन्त्री मसिना खड्का, उर्जा खानेपानी तथा सिंचाई मन्त्री तिर्थबहादुर लामा, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार र संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र स्वास्थ्य मन्त्री उत्तम जोशी गरी कांग्रेसका ६ मन्त्री छन्।
अर्थ मन्त्री बहादुर सिंह लामा र खानेपानी मन्त्री तिर्थ बहादुर लामा २६ चैत्र २०७९ मा मन्त्री पदमा नियुक्त भएका थिए भने वन मन्त्री खड्का, उद्योग मन्त्री चित्रकार, स्वास्थ्य मन्त्री जोशी र पर्यटन मन्त्री महर्जन ७ जेठ २०८० मा नियुक्त भएका थिए।



