पालुङ प्राधिकरणद्वारा एनसेलको ६ वटा टावरको लाईन काटियो

पालिका डायरी
१२ पुष २०८०, २१:४६

बक्यौता विद्युत महशुल नतिरेका कारण पालुङ वितरण केन्द्रले एनसेलको ६ वटा टावरको लाइन काटेको छ ।

उत्तरी मकवानपुरका विभिन्न स्थानमा रहेका टावरहरुमा जडित विद्युत लाइनको बक्यौता लगातार ४ महिनादेखिको महशुल नबुझाएको कारण एनसेलका टावरहरुको प्राधिकरणले लाइन काटेको हो ।

पालुङ वितरण केन्द्र अन्तर्गत थाहा नगरपालिका र इन्द्रसरोवर गाँउपालिकाकाे विभिन्न स्थानमा एनसेलका १३ वटा टावर जडित छन् । उक्त टावरहरुको आज सम्मको ७ लाख ४३ हजार बक्यौता बुझाउन बाँकी रहेको कारण बढी बक्यौता भएका ६ वटा टावरको लाइन आज काटिएको पालुङ वितरण केन्द्रका प्रमुख माधब न्यौपानेले बताए ।

पालुङ प्राधिकरणले बढि बक्यौता भएका सिमभन्ज्याङ्ग, कुलेखानी देउराली र सल्ले, फाखेल, मार्खु तथा कुन्छालमा रहेका टावरहरुको लाइन काटेको हो । एनसेललाई पनि बक्यौता बुझाउन पटक –पटक भनिएको भए पनि बक्यौता महशुल नबुझाएकोले लाइन काटिएको र सबै टावरको महशुल नबुझाए क्रमशः सबै टावरको लाइन काटिने पनि प्रमुख न्यौपानेले बताए ।

बक्यौता महशुल उठाउन विगत ३ महिनामा मात्रै पालुङ प्राधिकरणले २ सय भन्दा बढी ग्राहकको लाइन काटेको छ भने लाइन काटिएका ग्राहकहरुमा ९० लाख भन्दा बढी बक्यौता रकम उठाइसकेको छ ।

प्रतिक्रिया