भिमफेदी कारागारलाई मनहरी गाउँपालिकाको राइस स्टिमर उपहार 

पालिका डायरी
१० पुष २०८०, ११:३४

हेटौंडा / मनहरी गाउँपालिकाले भिमफेदी कारागारलाई राइस स्टिमर उपहार दिएको छ । सोमबार गाउँपालिकाले कारागारमै पुगेर उक्त राइस स्टिमर हस्तान्तरण गरेको हो । गाउँपालिकाले रु ३ लाख बराबरको २ वटा मेसिन कारागारका निमित्त प्रमुख मदन लामालाई हस्तान्तरण गरेको हो । 

गत असोज ५ गते गाउँपालिकाको कार्यपालिका बैठकले उक्त कारागारमा रहेका कैदीबन्दीहरूलाई खाना पकाउने स्टिमर खरिद गरि हस्तान्तरण गर्ने निर्णय गरेको थियो । मनहरी गाउँपालिकामा स्थायी / अस्थायी रुपमा बसोबास गर्ने सयौँको सङ्ख्यामा कैदीबन्दीहरू लागू औषध ओसारपसारका कारण कारागार चलान भएका छन् । गरिबीका कारण भरियाका रुपमा प्रयोग भएका ती सर्वसाधारणको दायित्व स्थानीय सरकारको पनि भएकाले सहयोग गरिएको अध्यक्ष रन्जन कालाखेतीले बताए ।

हालसम्म हिटरको प्रयोगबाट खाना पकाउने व्यवस्था रहँदै आएको निमित्त कारागार प्रमुख लामाले जानकारी दिए । उनले भने हिटरको प्रयोगले मासिक ४ देखि ५ लाख सम्मको विजुली खपत गर्दथ्यो तर उक्त स्टिमरले खाना पकाउन र विजुली खपतमा पनि सहयोग पुग्नेछ । यसबाट एउटा मेसिनमा ४८ किलो चामल एकैपटक पकाउन मिल्ने भएकाले करिब २०० जनालाई खाना पकाउन सजिलो हुने भएको छ । २ वटा स्टिमर मेसिनले करिब ४०० जनाको खाना एक पटकमा पाक्ने छ । 

हाल कारागारमा १ हजार ६९ जना कैदीबन्दीहरू छन् । ७ सय २६ जना कैदी र ३ सय ४३ जना थुनुवा रहेको उक्त  कारागारमा अन्य स्थानीय तहले पनि यसैगरी सहयोग गरे सहज हुने कारागारका निमित्त प्रमुख लामाले भने ।

प्रतिक्रिया