भीमफेदी गाउँपालिकाकाे ३ नम्बर वडामा कोदो उत्पादन गर्ने कृषकलाई नगद अनुदान वितरण

पालिका डायरी
२८ मंसिर २०८०, ११:०९

हेटौंडा  / भीमफेदी गाउँपालिका वडा नम्बर ३ मा रैथाने बाली कोदो उत्पादन गर्ने कृषकहरूलाई नगद अनुदान वितरण गरिएको छ । हिजो बुधवार गाउँपालिकाको अध्यक्ष हिदम लामा ४ नम्बर वडा अध्यक्ष सागर पाण्डे लगायत गाउँपालिकाको कृषि प्राविधिक सहितको टोली वडा कार्यलयमै गएर कोदो उत्पादन गर्ने किसानलाई  अनुदान वापतको नगद वितरण गरिएको अध्यक्ष लामाले बताए ।

यस वर्ष गाउँपालिकाको प्रोत्साहन अनुदान कार्यक्रमको प्रभावले भीमफेदी गाउँपालिकामा रैथाने बाली कोदो उत्पादनमा उल्लेखनीय  बृद्दी भएको अध्यक्ष लामा  बताउँछिन् । लामाको अनुसार १ हजार ६० रोपनी जग्गामा २ सय ६६ जना कृषक परिवारद्वारा कोदो खेती  लगाएको छ जस वाट  १ सय मेट्रिक टन कोदो उत्पादन हुने आँकलन गरिएको छ । 

चालु आर्थिक वर्षमा  गाउँपालिकाबाट २० लाख रुपैयाँ कोदो उत्पादनमा आधारित अनुदान कार्यक्रम पालिकाले सञ्चालन गरेको अध्यक्ष लामाले बताए । खडेरीका कारण मकै उत्पादनमा ह्रास आएपछि पालिका भित्र सम्भावित खाद्यान्न संकट टार्न पालिकाको किसानलाई कोदो उत्पादनले थेग्ने विश्वास लिएको लामाले बताए । अनुदानबाट लाभान्वित हुने बाहेक पनि कोदो खेती गर्ने कृषकहरू भएकोले पालिका भित्र करिब २ हजार रोपनीमा भन्दा बढि कोदो खेती भैरहेको कृषि शाखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया