मनहरी ६ को आयोजनामा निकुञ्ज र सरोकारवालाबीच अन्तरकृया
हेटौंडा / मनहरी गाउँपालिका वडा नं ६ को कार्यालयले राष्ट्रिय निकुञ्ज र सरोकारवालाबीच अन्तरकृया कार्यक्रम गरेको छ । मंगलबार वडा कार्यालय भवनमा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधिहरू र मध्यवर्ती वन समितिका पदाधिकारीहरू बिच अन्तरकृया गरिएको हो ।
अन्तरकृयामा विशेषगरि वन्यजन्तुबाट स्थानीहरू त्रसित भएको र निकुञ्जले बेवास्ता गरेको गुनासो गरेका थिए । पछिल्लो एक सातामा मात्रै बाघको आक्रमणबाट २ जनाको मृत्यु भएपछि निकुञ्जको चौतर्फी आलोचना बढेको छ । यसअघि पनि स्थानीयवासीहरूले विरोध गरेपनि विशेषगरी वन्यजन्तुले मानिसहरुको ज्यान लिएपछि बढि आक्रोशित हुने गरेका छन्। निकुञ्ज प्रशासनको ध्यान ढुङ्गा, गिटी, बालुवा र खोलानालामा मात्र भएकाले वन्यजन्तुले मानिसको जनधनमा पुर्याएको क्षतिमा बेवास्ता गरेको स्थानीयको बुझाई छ ।
कार्यक्रममा ६ नं वडाअध्यक्ष युवराज थपलियाले नागरिकको अप्ठ्यारोमा निकुञ्ज प्रशासन मौन रहेको जिकिर गरे । वन्यजन्तुले दिनहुँ जसो समस्या दिन्छ र जनताले स्थानीय सरकारलाई गुनासो गर्ने गरेका छन् । निकुञ्जको कानुनले गर्दा हामी मुकदर्शक हुन बाध्य भएका छौँ वडा अध्यक्ष थपलियाले भने।
यस्तै चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत सन्त बहादुर मगरले जनचेतनामूलक कार्यक्रम गरी जनतालाई सचेत बनाउन आवश्यक रहेको बताए । सीमित श्रोत र ऐनको बाध्यताले आफूहरूले केही गर्न नसकेको भन्दै माथिल्लो स्तरमा कुरा राखी आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने उनको भनाई थियो ।
यता गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले दीर्घकालीन समाधानको बाटो खोज्नुपर्ने बताए । चितवन लगायतका क्षेत्रहरूमा आरसीसी पर्खाल निर्माण गरिएको उदाहरण दिँदै छिट्टैनै संघ तथा प्रदेश सरकारसँग समन्वय गरी आवश्यक बजेटका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।



