यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय लक्षित ऐन निर्माण हुनेछ : पूर्वमन्त्री श्रेष्ठ
हेटौंडा / बागमती प्रदेशका सांसद एकालाल श्रेष्ठले यौनिक लैंगिक तथा अल्पसंख्यक समुदायको लागि आवश्यक ऐन निर्माणका लागि पहल गरिने बताएका छन् । प्रदेशको पूर्व श्रम रोजगार तथा यातायात मन्त्री समेत रहेका सांसद श्रेष्ठले यस समुदायका लागि प्रदेश सरकार उत्तरदायी रहेको बताउँदै आवश्यक ऐन निर्माण गर्न पहल गर्ने बताएका हुन् ।
सोमबार ब्लु डाइमण्ड सोसाइटीको आयोजना तथा फ्रेण्ड्स हेटौंडाको संयोजनका ‘हामी सबै भिन्न, हामी सबै समान’ भन्ने मूल नाराको साथ भएको लैंगिक उत्तरदायी सेवा प्रदान गर्नका लागि प्रदेशका मुख्य सरोकारवाला सँगको संवाद कार्यक्रममा सांसद श्रेष्ठले यस्तो बताएका हुन् । हाम्रो समाजमा अस्तित्वमा रहेका सम्पूर्ण प्राणीहरुको सम्मान पूर्वक रहन पाउने अधिकार छ, त्यो अधिकार यस समुदायका नागरिकहरुले पनि पाउनुपर्छ । उनले भने, ‘यस समुदायको लागि अब हामीले आवाज उठाउँछौं । लैंगिकमैत्री ऐन कानुन निर्माणका लागि हाम्रो पहल रहनेछ ।’
त्यस्तै, कार्यक्रममा प्रदेश सभा सदस्य रिता गुरुङले यौनिक लैंगिक तथा अल्पसंख्यक समुदायहरु पहिलेको तुलनामा खुलेर आफ्नो परिचय दिन थालेको देख्दा खुसी लागेको बताइन् । केही बर्ष पहिले आफ्नो बारेमा आफै अपरिचित रहने यस समुदायको मानिसहरुमा ज्ञान र विभिन्न यस्ता कार्यक्रमका प्रभावले सकारात्मक परिर्वतनहरु आएको सांसद गुरुङको भनाइ छ ।
मन्तव्यकै क्रममा गैसस महासंघ बागमती प्रदेशकी अध्यक्ष आरती पाठकले यस समुदायका नागरिकहरु ऋब नागरिकताको लडाईँमा उत्रन पर्ने बताइन्। नागरिकता नपाएकै कारण रोजगारीमा सामेल हुन नपाइने भन्दै पहिले नागरिकता प्राप्तीको लागि विभिन्न पहल थालिनुपर्ने बताएकी हुन् ।
यस्तै, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले यस्ता सचेतनामुलक कार्यक्रमहरुको पहुँच बढाउँदा यस समुदायमा निकै परिवर्तन आएको भन्दै केही बर्षमा यौनिक लैंगिक तथा अल्पसंख्यक समुदायहरुले पनि अन्य मानिसहहरु सरह नै अधिकार प्राप्ती गर्ने विश्वास व्यक्त गरिन् ।
यूएन ओमनको सहयोगमा भएको उक्त संवाद कार्यक्रममा विभिन्न सम्बन्धित सरोकारवाला निकायहरुले यस समुदायसँग सम्बधित प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा मानव अधिकार आयोग बागमती प्रदेशकी निमित्त प्रमुख रेवा रेग्मी, स्वास्थ्य मन्त्रालय बागमती प्रदेशकी फार्मेसी अधिकृत समिक्षा अधिकारी र सामाजिक विकास मन्त्रालय बागमती प्रदेशका सामाजिक विकास महाशाखा प्रमुख गोपाल कडेंलले यस समुदायको समस्या, चुनौती र आगामी दिनमा गर्ने लक्ष्यका बिषयमा प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।
ब्लु डाइमण्ड सोसाइटीको अध्यक्ष भारती थापाको अध्यक्षतामा भएको कार्यक्रममा सांसद एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश सांसद रिता गुरुङ र लक्ष्मी श्रेष्ठको बिशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न मन्त्रालयका महाशाखा प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा फ्रेण्ड्स हेटौंडाको कार्यक्रम संयोजक किरण थापाले स्वागत मन्तव्य राखेकी थिइन् ।


