नेपालले कतारलाई ९ विकेटले हरायो, गर्‍यो सेमिफाइनल स्थान सुरक्षित

पालिका डायरी
१८ भाद्र २०८०
बहराइनसँगकाे खेलमा नेपाल १७ बलमै विजयी file photo

नेपाली महिल क्रिकेट टोली मलेसियामा जारी आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार कतारलाई ९ विकेटले हराउँदै नेपाल एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरेको हो ।

चोथो खेलमा कतारले दिएको ७५ रनको सामान्य लक्ष्य नेपालले १०.३ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि काजल श्रेष्ठले २८ बलमा ४ चौकासहित सर्वाधिक ३२ रन बनाइन् ।

यस्तै, इन्दु वर्माले १२ बलमा ३ चौकाको सहयोगमा अविजित २० रनको योगदान दिइन् । सीता राना मगरले २३ बलमा अविजित १७ रन जोडिन् । कतारका लागि सबिजा आदियेरी पाणयनले मात्र एक विकेट लिन सकिन् ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनायो । उसका लागि साची धडवालले २१, अलीना खानले १५, एन्जेलिन मारेले अविजित १४ र कप्तान आयसाले १० रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । नेपालका लागि अलराउन्डर इन्दु वर्माले सानदार बलिङ गरिन् । उनले ४ ओभरमा १० रन मात्र दिएर ३ विकेट लिइन् ।

यस्तै, कविता जोशी र पूजा महतोले एक÷एक विकेट हात पारे । नेपाललाई दुई भने रनआउटको रूपमा प्राप्त भयो । जारी प्रतियोगितामा नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट र तेस्रो खेलमा भुटानलाई ३ विकेटले हराएको थियो ।

नेपालले अब मंगलबार यूएईसँग खेल्ने तालिका छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई तथा समूह ‘बी’ मा चीन, हङकङ, थाइल्याण्ड, कुवेत र म्यानमार रहेका छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

प्रतिक्रिया