अब भान्साका लागि आवश्यक सम्पूर्ण सामान हेटौंडा कृषि बजारमा
हेटौंडा / हेटौंडाका मानिसहरुलाई भान्साको सामान किनमेल गर्न पसल-पसल डुल्नसपर्ने समस्याको हल भएको छ ।
हेटौंडा ४ मेनरोड नारायणी मल नजिकै कृषि तथा तरकारी बजार सञ्चालनमा आएपछि सबै सामान एकैठाउँमा पाइने भएको हो । सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको तरकारी बजारमा तरकारी, फलफूल, माछामासु, डेरी आइटम देखि किराना सामानहरु समेत पाइने उक्त त्रिवेणी भेजिटेबल मार्टका अध्यक्ष अभ्यास भुजेलले जानकारी दिए । यतिमात्रै होइन, सुविधासम्पन्न पार्किङको व्यवस्था रहेको यहाँ किनमेल सकेर थकान मेट्दै मिठो खाजा खानको लागि खाजाघरहरु समेत मार्टमै रहेको भुजेल बताउँछन् ।
गाउँका अर्गानिक तरकारीहरु पाइने यस भेजिटेबल मार्टमा सफा, स्वस्थ्य र ताजा सामानहरु पाइने बताइएको छ । त्रिवेणी भेजिटेबल मार्टका अध्यक्ष भुजेल, सचिव राजीव गोले, कोषाध्यक्ष अजय स्याङ्तान, सदस्यहरु सुरज गोङ्बा लामा र प्रिन्स लामा मिलेर लगभग ३ करोड रुपैयाँ लगानीमा बजार सञ्चालनमा ल्याइएको हो ।
बजारमा ९० वटा तरकारीको स्टल, ३० वटा गेडागुडी तथा खाद्यान्नको स्टल, २० वटा फलफूलको स्टल, ५ वटा मासुको र ५ वटा खाजाको स्टल रहेको छ। अब केही स्टलहरु मात्रै बाँकी रहेकोले छिटो भन्दा छिटो सम्पर्क गर्न समेत भुजेलले आग्रह गरेका छन् । सानो लगानीमा व्यवसाय गर्न चाहनेहरुका लागि यो बजारले ठूलो सहयोग गर्ने भेजिटेबल मार्टका सचिव राजिव गोलेले बताए ।


