प्रदेश राजधानीमै विद्यार्थीको बिजोग, कक्षाकोठाले छेक्दैन घाम-पानी

पालिका डायरी
२७ बैशाख २०८०, १६:११
प्रदेश राजधानीमै विद्यार्थीको बिजोग, कक्षाकोठाले छेक्दैन घाम-पानी

वैशाखको तातो घाम। तराईको छेउमै छोडिएको दुर्गम गाउँ। घण्टौं हिडेर मात्रै विद्यालय आइपुग्नपर्ने बाध्यता। त्यसमाथि पनि विद्यालयको कक्षाकोठामा तातिएको टिनले पढाईमा ध्यान लगाउनै मुस्किल।

पानी परे पानी कक्षाकोठा भित्रै, घाम लागे बस्न नसक्ने गर्मी। यस्तै,  कठिनाइ भोगेर पनि पढ्नमा भने जाँगर लगाउनै पर्ने बाध्यतामा छन् बागमती प्रदेशको राजधानीकै बालबालिकाहरु। भौगोलिक विकटताले पिल्सिएको हेटौँडा उपमहानगरपालिका–१५ का बालबालिकाहरुलाई शिक्षा लिन ज्यानकै बाजी थाप्नुपरेको छ भन्दा पनि फरक पर्दैन।

हेटौँडा उपमहानगरपालिका १५ नम्बर वडामा पर्ने बाँसघारी चिप्लेटी भन्ने स्थान हेटौँडाकै विकट मानिन्छ। हेटौंडा बजारबाट यहाँ पुग्न आधा घण्टा गाडीको यात्रापछि खोलै खोलाको बाटो लगभग ३ घण्टा हिँड्नुपर्छ।

भौगोलिक हिसाबले विकट रहेको यहाँका बालबालिकाहरुलाई चिप्लेटीमा रहेको विश्वज्योती आधारभूत विद्यालयसम्म आउन घण्टौं हिड्नुपर्ने बाध्यता त छँदैछ, त्यसमाथि पनि वैशाखको चर्को घाममा जस्ताले बारेर बनाइएको कक्षाकोठा तातिँदा बस्नै नसक्ने समस्या भोगिरहेका छन्।

‘दिउँसो भएपछि जस्ता तातिँदा पढ्न सक्ने अवस्था नै छैन’ कक्षा ८ मा अध्ययनरत प्रिती बल भन्छिन्, ‘कक्षाकोठा पनि साँघुरो छ। एउटै बेन्चमा धेरैजना कोचिएर बस्न पर्छ। जाडो महिनामा त समस्या भए जस्तो लाग्दैनथ्यो। गर्मी लागेदेखि दिन कटाउनै मुस्किल हुन्छ।’

यस्तै गुनासो कक्षा ४ मा पढ्ने देवी बलले पनि गरिन्। ‘कक्षाकोठा पुग्दैन। हामीले कहाँ राखेर पढाउने?’ उनले भने, ‘यहि जस्ताले बारेर भएपनि एउटा कक्षा बनाएका छौं। अरुलाई यहि सानो कोठा जस्तो छ त्यसमै पढाईरहेका छौं।’ उनले भवन अभावमा शिक्षकलाई समेत समस्या भएका गुनासो गरे। प्रधानअध्यापक चौधरीले थपे, ‘विद्यार्थीलाई मात्रै समस्या होइन। हामी शिक्षकहरुलाई पनि उत्तिकै समस्या छ। अफिसकोठामा दुईवटा टेबल राख्न पनि मुस्किल छ। ७ जना शिक्षक छौं। एकैपटक बस्न पर्यो भने पनि अटिँदैन।’

साना कक्षाकोठामा दर्जनौं बालबालिका खचाखच बसेर पढ्न बाध्य छन् भने कक्षा कोठा नपुगेर जस्ताको टहरामा पढ्ने कक्षा ४ का बालबालिकाका लागि घाम पानी, हावाहुरी सबैको चिन्ता छ।

विद्यालय भवनका लागि विद्यालय व्यवस्थापन समितिले वर्षौंदेखि पहल गरेपनि समस्या जिउँका तिउँ रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर घलानको गुनासोे छ।

विद्यालयको स्तरोन्नोतिका लागि वडा कार्यालयले पहल थालिसकेको स्थानीय जनप्रतिनिधि बताउँछन्। हेटौँडा उपमहानगरपालिका १५ का वडाध्यक्ष सुनिल मोक्तानले उपमहानगरपालिकाले उक्त विद्यालय भवन निर्माणका लागि यसै वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भवनको शिलान्यास गरेको बताए। ४ कोठे भवन निर्माण भएसँगै अब दुर्गम चिप्लेटीमा रहेको विद्यालयले जस्ताको टहराबाट छुट्कारा पाउने उनको भनाई छ।उनले भने, ‘समस्या अहिले सिर्जना भएको होइन। यहाँ भौगोलिक विकटताका कारण वर्षौंदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतको समस्या छ। जुन समस्या समाधानका निम्ती अब उपमहानगरपालिका लागिपर्ने छ।’

उनका अनुसार वडाको पहलमा हेटौँडा उपमहानगरपालिकाले भवन निर्माणको लागि ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ। त्यसो त, गाउँमै एउटा मात्रै रहेको यस विद्यालय भौगोलिक विकटताका कारण दुईठाउँबाट अध्ययन गराइँदै आएको छ। गाउँको बाँसघारीमा रहेको विद्यालयमा ५ कक्षासम्म मात्रै पढाई हुने भएपछि ६ कक्षादेखि भने चिप्लेटीमै रहेको विद्यालयमा घण्टौं हिडेर आउनुपर्ने बाध्यता छ। दुवै स्थानमा रहेको उक्त विद्यालयमा झण्डै २ सय ५० को हाराहारीमा विद्यार्थीहरु अध्ययन गर्दै आएका छन्।

प्रतिक्रिया